काठमाडौँ ।सांसद विन्दवासिनी कंसाकारले जलन उपचारका लागि जलन उपचार कोषको स्थापना गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विनियोजन शीर्षकमाथिको छलफलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रालयअन्तर्गत सुझाव प्रस्तुत गर्दै उहाँले जलनको विकराल समस्यालाई मध्यनजर गर्दै अन्य रोगको उपचारसरह जलन उपचार कोषको स्थापना गनुपर्ने बताउनुभएको हो ।
“किन जलन उपचारलाई अरु रोगसरह उपचार कोष दिइँदैन ?”, उहाँले भन्नुभयो, “मैले आफूले तेजाब जलनको अनुभव गरेको छु । मैले अनेकौँ कारणले जलेका व्यक्तिहरूको पीडा पनि अनुभव गरेको छु । जलनका कारण धेरै छन् । तर जलनपछि नागरिकले भोग्ने दुर्गति र छट्पटी समान छन् ।”
उहाँले पहिले उपचार पाउने र निवेदन दिने मानवीय परम्पराको सुरुआत गर्न पनि आग्रह गर्नुभयो । अधिकांश जलन दुर्घटनाका कारण भए पनि सरोकारवाला गम्भीर हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सन् २००६ को विश्व स्वास्थ्य सङ्गठनको तथ्याङकानुसार ५५ देखि ६० हजार जलनका दुर्घटना हुने गरेको छ । तर कहिल्यै पनि यसको सदन र सरकारमा चर्चा भएको मलाई थाहा छैन ।” रासस
