तनहुंँ ।तनहुँको व्यास नगरपालिका–१ भादगाउँका अपाङ्गता भएकी ७० वर्षीया मिठु विकलाई ‘ह्वील चियर’ प्राप्त गर्नुभएको छ । यसले हिँड्डुलमा सहायता पुगेको उहाँले बताउनुभयो । व्यास नगर उपप्रमुख इन्दिरा दरैले विकलाई ह्वील चियर प्रदान गर्नुभएको थियो । “हामीले पनि स्थानीय सरकार भएको महसुस गर्न पायौंँ, हामी जस्ता हिँड्डुल गर्न नै सकस भएका मान्छेलाई सजिलो बनाएको छ” विकले भन्नुभयो ।
उहाँ जस्तै अपाङ्गता भएका सोही ठाउँका ५२ वर्षीय कृष्णबहादुर रानाभाटले ह्वील चियर नहुँदा हातले टेकेर हिँड्नुपरेको थियो । ह्वील चियर पाएपछि सहज भएको उहाँले बताउनुभयो । “अपाङ्गता भएका संस्थाले मात्रै सहकार्य गरी पठाउने गरेकामा अहिले नगर उपप्रमुख घरमै आएर ह्वील चियर दिँदा असाध्यै खुसी लाग्यो, हाम्रो दुख बुझिदिनुभयो, यही नै हाम्रो खुसी हो”, उहाँले भन्नुभयो ।
नगरपालिकाले हिँड्डुलमा सहज र सहयोग पु¥याउने उद्देश्यले सामग्री वितरण गरेको हो । उपप्रमुख दरैले शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिलाई हिँडडुल गर्न असहज भएकाले ह्विल चियर प्रदान गरिएको बताउनुभयो । “अपाङ्गता भएका व्यक्तिलाई नगरपालिकाले सहयोग गर्दै आइरहेको छ, अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा बाँच्न नगरपालिकाले अपाङ्गमैत्री वातावरण सिर्जना गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो । नगरपालिकाले अपाङ्गता भएका व्यक्ति आवद्ध सङ्घ संस्थासँग समन्वय गरी विभिन्न सामग्री खरिद तथा वितरण गर्दै आएकोे छ । रासस