तेहरान ।इरानका राष्ट्रपति इब्राहिम रायसीले आइतबार आफ्नो देश लागुऔषध कारोबार विरुद्धको लडाइँमा कोलम्बियासँग अनुभव आदानप्रदान गर्न तयार रहेको बताउनुभएको छ ।
इरानी राष्ट्रपतिको कार्यालयको वेबसाइटमा जारी गरिएको विज्ञप्तिअनुसार इरानका लागि भर्खरै मान्यता प्राप्त कोलम्बियाली राजदूत जुलियो एनिबल रियानो भेलान्डियासँगको भेटमा रायसीले उक्त टिप्पणी गर्नुभएको हो ।
भेटका क्रममा राईसीले इरानमाथिको तीव्र वैदेशिक दबाब र प्रतिबन्धका बाबजुद इरानले वैज्ञानिक, प्राविधिक र औद्योगिक क्षेत्रमा ठूलो प्रगति गरेको र ल्याटिन अमेरिकी राष्ट्रहरूसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन कटिबद्ध रहेको बताउनुभएको छ ।
कोलम्बियाका राजदूतले इरानसँगको आर्थिक सहयोग र व्यापार आदानप्रदान आफ्नो देशको प्राथमिकतामा रहेको बताए । यसैगरी उहाँले दुई देशबीचको कूटनीतिक सम्बन्धमा सुधारसँगै दुई पक्षबीच भएका १५ वटा सहयोगसम्बन्धी दस्तावेजलाई कार्यान्वयनमा तीव्रता दिन जग तयार हुने विश्वास व्यक्त गर्नुभएको छ । रासस
