चितवन । भतरपुर महानगरपालिका वडा नम्बर–२६ आर्दश माविमा रहेको एटिजम स्रोत कक्षा सञ्चालनमा आएको छ । आर्दश माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सवको अवसरमा स्रोत केन्द्रको आईतबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । भरतपुर महानगरपालिका वडा नम्बर–१० बालमन्दिर पनि अटिजम विद्यालय सञ्चालनमा छ । महानगरपालिकाले शिक्षाको पहुँचमा सबै बालबालिकालाई पु¥याउन अटिजम विद्यालय स्थापना गरिएको दाहालले बताउनु भयो । आर्दश मावि प्रांगणमा रहेको भवनलाई रङ रोगन गरी सञ्चालनमा ल्याइएको विद्यालयले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिकाकी प्रमुख दाहालले विद्यालयमा निःशुल्क पढ्न पाउनुपर्ने बालबालिकाको अधिकार संविधानमा किटान गरेकाले महानगरले सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउने लक्ष्य लिएको बताउनुभयो ।
प्रमुख दाहालले भरतपुर २६ कै कुनै एक कार्यक्रममा सहभागी भएको समयमा हेरचाह घरमा अवलोकन गर्न पुगेको र तत्कालन नै स्रोत केन्द्र निर्माणलाई अगाडि बढाएको उल्लेख गर्नुभयो । यो स्रोत केन्द्रलाई आवश्यक पर्ने थप स्रोत साधन महानगरपालिकाको तर्फबाट उपलब्ध गराउने प्रमुख दाहालले प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘स्रोत केन्द्रका लागि विद्यालय बसको आवश्यकता रहेका कुरा जानकारी गराउनु भएको छ, उहाँले भन्नुभयो,‘यो वर्ष विद्यालय बसको कार्यक्रम छैन । आगामी बर्ष यो कार्यक्रमलाई अगाडि बढाउछौँ।’
महानगर प्रमुख दाहालले ५ वर्षअघि आर्दश माविमा विद्यार्थीको संख्या क्रमशः घट्दो क्रममा रहेको थियो भने अहिले ३ सय संख्या थप भई सातसयको हाराहारीमा संख्या पुगेको बताउनुभयो । महानगरपालिकाले विद्यालयहरुको पूर्वाधारमा राम्रै विकास गरेको र अब भने गुणस्तरीय वृद्धि गराउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने उहाँको भनाई थियो ।
स्रोत केन्द्रमा अहिले पश्चिम चितवनका १० जनाले सेवा लिईरहेका छन् । स्रोत केन्द्रले एटिजम भएकाहरुलाई शारीरिक व्यायाम, दैनिक नित्यकर्म, खेलकुद तथा अन्य ज्ञान सिकाउने गर्दछ । स्रोत केन्द्रका लागि एक जना शिक्षक पनि व्यवस्था गरिएको छ । अटिजम भएकाहरुलाई सम्बन्धित परिवारले दिनभर स्रोत केन्द्रमा स्याहार सम्भार गर्दछन् ।
