काठमाडौं । नेपालमै पहिलो पटक मुटुको जटिल मानिने ‘निकाइडो’, शल्यक्रिया डा.रबीन्द्र भक्त तिमलाको नेतृत्वमा शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सफल शल्यक्रिया गरिएको छ ।
स्याङ्जा जिल्लाकी ७ वर्षिय जन्मजात मुटुरोगबाट पिडित बालिकामा गरिएको उक्त शल्यक्रियामा डा.तिमलालाई डा.मारिषा अर्याल,डा.सुजन बोहरा र डा.स्मृती महाजु लगायतका मेडिकल टिमले सहयोग गर्नुभएको हो ।
यही असोज २६ गतेका दिन गरिएको उक्त शल्यक्रिया नेपालमै पहिलो पटक गरिएको जनाउँदै डा.रबीन्द्र भक्त तिमलाले भन्नुभयो –‘हाल उक्त बालिका स्वास्थ्य लाभ गरि घर जाने तयारी अवस्थामा छिन् ।’ करिब साढे ९ घण्टासम्म चलेको शल्यक्रिया गर्न बालिकाको मुटुलाई झन्डै ४ घण्टा बन्द गर्नु परेको थियो । ट्र्रान्सपोजिसन अफ ग्रेट आर्टिरिज, भेन्ट्र्रिकुलर सेप्टल डिफेक्ट, पल्मोनरी स्टेनोसीस भनिने उक्त रोगमा मुटुको देब्रे खण्डबाट निस्किनु पर्ने मूलधमनी (एओर्टा) दाहिने खण्डबाट निस्केको र दाहिने खण्डबाट निस्किनु पर्ने पल्मोनरी आर्टरी देब्रे खण्डबाट निस्की साँगुरिनुको साथै मुटुको तल्लो भागको दुई कोष्ठ बीच ठूलो प्वाल भेन्ट्र्रीकुलर सेप्टल डिफेक्ट रहेको डा. तिमलाले बताउनुभयो ।
‘शल्यक्रिया गरि मुटुको मूलधमनी दायाँ भागबाट छुट्याइ देब्रे भागमा प्रति स्थापित गर्नुको साथै देब्रे भागबाट निस्केको पल्मोनरी आर्टरी दायाँ भागबाट प्रति स्थापित गर्यौ’, डा.तिमलाले भन्नुभयो–‘यस्तै मुटुको तल्लो भागको दुई कोठा बीचको प्वाल, भेन्ट्र्रीकुलर सेप्टल डिफेक्ट पनि टाल्यौ ।’ पछिल्लो समय नेपालमा विभिन्न खाले मुटुरोगहरुको जटिल भन्दा जटिल सर्जरी नेपालमा हुँदै आएकोबारे डा.तिमलाले जानकारी दिनुभयो ।