काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पाँच वर्ष भित्र नेपाल शिक्षाको हब बन्ने बताउनु भएको छ । चिकित्सा शिक्षा आयोगमा पनि परामर्श भइरहेकोले ऐन परिवर्तन गरेर पाँच वर्ष भित्रै नेपाल मेडिकल शिक्षाको हव बनाएरै छाड्ने उहांँले दाबी गर्नुभयो ।
२१५१ औं ह्योल्मो सोनाम ल्होसारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले सय देखि तीन शैयाका अस्पतालहरुमा नर्स र प्यारामेडिक्सको पढाई हुने र तीनसय शैयाभन्दा माथिका अस्पतालहरुमा एममिबिबिएस र विशेषज्ञ चिकित्सकको पढाई गर्ने गरि स्वास्थ्य मन्त्रालयले निर्णय गरेको बताउनु भयो ।
मेडिकल शिक्षाका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउदै मन्त्री बस्नेतले स्वदेशमा प्रशस्त संभावना भएर पनि चिकित्सा शिक्षा ऐनका केही प्रावधानका कारण हजारौ नेपाली विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि विदेश जान बाध्य भएको बताउनु भयो ।
चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर स्वदेशमै मेडिकलका कोटा बढाउने विषयमा मन्त्रीपरिषद् मात्र नभएर चिकित्सा शिक्षा आयोग पनि सकारात्मक भएकाले केही दिनमै चिकित्सा शिक्षा ऐन परिमार्जन हुने मन्त्री बस्नेतको भनाई थियो ।
नेपालमा चिकित्सा शिक्षा अध्ययनका लागि सार्क देशहरुका हजारौ विद्यार्थी समेत आउने संभावना भएकाले भविश्यमा नेपाल चिकित्सा शिक्षाको हव हुने उनले बताएका हुन् । समयमै चिकित्सा शिक्षा ऐन परिमार्जन गर्न नसकिए अवको पाँच वर्ष पछि नेपालमा डाक्टर, नर्स र प्यारामेडिक्सको अभाव हुने दाबी गर्दै स्वास्थ्य मन्त्रीले राज्यले बेलैमा यस बिषयमा आवश्यक कदम चाल्न लागेको जानकारी दिनुभयो ।
आफ्नो देशमा सर्बसुलभ रुपमा पढ्न नपाएर कैयौं विद्यार्थी मानसिक रुपमा तनाबमा रहेको बताउदै मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संसोधन भएर यही पढ्न पाउने प्रशस्त संभावना सिर्जना गरिए धेरै हदसम्म मानसिक समस्या समेत समाधान गर्न सकिनेमा जोड दिनुभयो । नेपालमा मेडिकल कलेजहरु र अस्पतालहरुसँग वर्षमा ५ हजार भन्दा बढी एमबिबिएस पढाउन सक्ने क्षमता भए पनि विद्यमान चिकित्सा शिक्षा ऐनका प्रावधानका कारण १९ सय विद्यार्थीले मात्र स्वदेशमा पढ्ने अवसर पाईरहेका छन् भने दर्जनौ नर्स र प्यारामेडिक्स पढाउने कलेज बन्द भइसकेका छन् ।
