बुलिङटार । नवलपुरको बुलिङटारमा बालबालिकाको स्वास्थ्य प्रवर्द्धन तथा सरसफाइसम्बन्धी व्यवहारमा सुधार ल्याउने उद्देश्यले डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ विशेष कार्यक्रम सम्पन्न भएको छ।
दुई वर्षमुनिका बालबालिका तथा उनीहरूका आमाहरूको प्रत्यक्ष सहभागितामा आयोजित कार्यक्रममा नियमित खोप सेवा प्रदान गर्नुका साथै व्यक्तिगत सरसफाइ र स्वच्छतासम्बन्धी सचेतना अभिवृद्धि गरिएको थियो।
कार्यक्रमअन्तर्गत दुई वर्षमुनिका बालबालिकालाई राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक खोप प्रदान गरिएको थियो। साथै, बालबालिकालाई विभिन्न सङ्क्रामक रोगबाट जोगाउन खोपको महत्त्व, व्यक्तिगत सरसफाइ, हात धुने सही तरिका तथा बालबालिकाको दैनिक सरसफाइमा ध्यान दिनुपर्ने विषयमा आमाहरूलाई व्यावहारिक जानकारी दिइएको पालिकाको स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठले जानकारी दिनुभयो।
बालबालिकाको स्वस्थ विकासका लागि नियमित खोपसँगै सफा वातावरण, स्वच्छ खानेपानी, पोषणयुक्त आहार तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने सन्देश कार्यक्रममार्फत प्रवाह गरिएको थियो।


