भरतपुर । लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ ”आर” कलस्टर ३ रिजन ८ देखि ११ र जोन १८ देखि २५ अन्तरगत रहेका ३३ वटा लायन्स क्लवहरुको सयुक्त आयोजनामा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नं.१२ स्थित मोहन माध्यमिक विद्यालय परिषरमा स्वास्थ्य शिविर गरिएको हो ।
शिविर कार्यक्रममा मेडिकल टीमको नेतृत्व लायन्स अभियान्ता तथा वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.गंगा सापकोटाले गर्नुभएको थियो । विभिन्न रोगसंगै दन्तरोग सम्बन्धि वरिष्ठ दन्तरोग विशेषज्ञ डा.कृष्ण रेग्मीको नेतृत्वमा आधा दर्जन डेण्टल सर्जन चिकित्सकबाट १२९ जना विरामीहरुको मुख तथा दाँतको स्वास्थ्य परीक्षण गरिएको हो ।
शिविरमा दन्त सेवा लिन आएका धेरैजसो बालबालिकामा दाँत किराले खाने समस्या साथै अन्य सेवा ग्राहीहरुमा गिंजा रोगको समस्या देखा परेको वरिष्ठ डेण्टल सर्जन डा.कृष्ण रेग्मीले जानकारी दिनुभयो । डा.रेग्मीका अनुसार कतिपय बालबालिकामा असामान्य रूपमा दाँत टुक्रेर झर्ने, दाँत बाङ्गोटिङ्गो हुने र अनुहारको हड्डीको अनुपात नमिल्दो देखिने जस्ता समस्या फेलापरेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले लायन्स क्लव अन्तराष्ट्रियले समाजमा गर्दै आएका सबैखाले गतिविधिबारे आफू जानकार रहेको बताउनु भयो । आगामी दिनमा प्रदेश स्वास्थ्य मन्त्रालय, लायन्स क्लव अन्तराष्ट्रिय संग सहकार्य गरि स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुलाई न्यून वर्गीय र सीमान्तकृत समुदाय बसोवास क्षेत्रसम्म लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्वगर्भनरद्धय लायन राजकुमार श्रेष्ठ,ला.राम प्रसाद भट्ट,गर्भनर ला.आर.एस.महत्तो,ला.नवराज सापकोटा,ला.कमल श्रेष्ठ ,ला.प्रभाकर पण्डित,ला.लोकनाथ भट्ट ,ला.अजामिन ढकाल,ला.रितु गिरी,ला.विनोद तिमिल्सिना,ला.मोहन केसी लगायतको उपस्थिति रहेको थियो ।