काठमाडौँ । नेपाल फर्मा एक्स्पो – २०२४ मा औषधिबारे सम्पूर्ण जानकारी दिने भएकोले सबैले अवलोकन गर्नुपर्ने बताइएको छ ।
औषधिसंग सरोकार राख्ने सबैले चितवनको भरतपुरमा यहि फागुन २५ गतेदेखि संचालन हुने फर्मा एक्स्पो अवलोकनका लागि आयोजकले आग्रह गरेको छ ।
कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिलविक्रम कार्कीले एक्स्पोमा उत्साहका साथ सहभागी जनाएर सफल बनाउनु पर्नेमा जोड दिनुभएको छ । डा.कार्कीले एक्स्पो स्वदेशी औषधि उद्योग र औषधिको प्रवद्र्धन गर्ने अवसर रहेको बताउंदै ,“दैनिक देखिरहेका औषधि के कसरी बन्दछन् । ती औषधि उत्पादन प्रक्रिया के कस्तो हुन्छन् भन्ने कुराको ज्ञान र सिक्ने जान्ने मौका पनि एक्स्पोमा पाइन्छ” उहाँले भन्नुभयो, “त्यसैले चिकित्सक, औषधि पसलदेखि सर्वसाधारण सबैले एकपटक एक्स्पोमा गएर नेपाली औषधिबारे जानकारी लिनुपर्दछ ।”उहाँका अनुसार औषधि लेख्ने चिकित्सकहरु, औषधि बनाउने र व्यवसायी फर्मासिस्टहरुको लागि एक्स्पो अन्तरक्रियाको गर्बिलोथलोको रुपमा रहेको बताउनुभएको छ ।
नेपाल फर्मास्युटिकल्स एसोसिएसनका अध्यक्ष ललितमोहन पन्थले एक्स्पो नेपाली औषधि उत्पादनका लागि के कस्तो प्रविधि नेपालमा भित्रिरहेको छ, भन्ने कुराको जानकारी दिलाउने बतानुभयो । औषधि उद्योगमा मानिसहरुलाई प्रोत्साहन र उत्साहित बनाउने माध्यमको रुपमा एक्स्पो रहेको उहाँको भनाई छ ।
रसायन तथा मेडिकल आपुर्ति सङ्घ नेपाल (केमसान) का अध्यक्ष भक्त हमालले औषधि उत्पादनमा प्रयोग हुने उपकरण र कच्चा पदार्थको वृहत प्रर्दशनीको रुपमा एक्स्पो रहेको बताउनुभयो । अध्यक्ष हमालले एक्स्पोमा विदेशी कम्पनीले नेपालका औषधि कम्पनीलाई नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने भनाई राख्नुभएको थियो । नेपाल औषधी उत्पादक संघ (एपोन) को आयोजनामा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक ’भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा यहि फागुन २५ देखि २७ गते ३ दिनसम्म फर्मा एक्स्पो संचालन हुँदैछ । एक्स्पोमा करिव ३० हजारले अवलोकन गर्ने आयोजकले विश्वाश लिइएको छ ।
नेपाली औषधिको प्रवद्र्धन हुन थालेको नेपाल फर्मा एक्स्पोमा १६० वटा स्टल राखिने छ । तीमध्ये नेपालका ३७ वटा, भारतका ९२ स्टल र चीनका एउटा स्टल रहेका छन् । फर्मा एक्स्पोको सबै तयारी अन्तिम चरणमा पुगेको विषयमा (एक्स्पो) मिडिया संयोजक सन्तोष बरालले जानकारी दिनुभयो ।
