नेपाल औषधि उत्पादक संघको आयोजनामा भरतपुरमा यही फागुन २५ देखि २७ गतेसम्म नवौं नेपाल फर्मा एक्स्पो हुँदै छ । यसका लागि एक्स्पोको तयारी तीव्र गतिले बढिरहेको छ । एक्स्पोमा १६० भन्दा बढी स्टल रहने र १५ हजार अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ । एक्स्पोको तयारी, एक्स्पोको उद्धेश्य एवं तीनदशक इतिहास बोकेको नेपाली औषधि उद्योगको अवस्था , संभावना, अवसर र चुनौति लगायतका बिषयमा केन्द्रित रहेर संघ एपोन महासचिव सुर्दशन खेगुलीसंग गरिएको कुराकानीको अंश ।
नेपालमा औषधि उद्योगको पछिल्लो अवस्था कस्तो छ ?
नेपाल औषधि अवस्था पछिल्लो अवस्थामा आईपुग्दा त्यति धेरै राम्रो छ भन्नुपर्ने अवस्था छैन । कोरोनाकाल पछि नेपालका सबै क्षेत्र धराशायी भईरहेका बेला यो क्षेत्रमा पनि गम्भिर असर परेको देखिन्छ । आर्थिक मन्दीको अवस्था रहेको नेपाली औषधिको बजार खस्कँदो अवस्थामा रहेको छ ।
नेपालमा ९० अर्ब रुपियाँ बराबरको औषधीको बजार रहेको छ । त्यसमध्ये नेपाली औषधिको ३४ देखि ३५ अर्ब बराबरको बजार रहेको छ । समग्र औषधिको हिसाब गर्ने हो भने ५० प्रतिशत औषधिको हिस्सा नेपालमा नै उत्पादन भएका औषधिहरुको रहेको छ । हामी अहिले राज्यको सहयोग विना नै आफ्नै बलबुताले नेपाली औषधि उद्योगलाई अगाडि बढाइरहेका छौँ ।
नेपाली औषधि उद्योगको मुलुकका लागि आवश्यक ७० देखि ८० प्रतिशत औषधि उत्पादन गर्ने क्षमता रहेको छ । तर उद्योगहरु पूर्ण क्षमतामा संचालनमा आउन सकेका छैन । आर्थिक सुस्तताका कारण नै अहिले ३० देखि ३५ प्रतिशत क्षमतामा मात्र संचालन रहेका छन् ।
सरकारले नेपाली औषधि उद्योगका लागि के गर्नुपर्छ ?
नेपाली औषधि उद्योगमैत्री खालका कार्यक्रम सरकारले ल्याउनु पर्दछ । नीजि उद्योगले एक हदसम्म लगानी गरिरहेका छन् । अर्को कुरा बाहिरी मुलुकबाट औषधि नेपाल आइरहेका छन् । त्यसैगरी सरकारले बाहिर मुलुकमा पनि हामीलाई औषधि निर्यात गर्न सक्ने वातावरण बनाइदिनु पर्दछ ।
सरकारी तवरबाट खरिद गर्ने औषधि स्वदेश उद्योगले उत्पादन गरेका औषधि खरिद गर्छ भने हामीलाई उद्योग संचालन गर्न सहज हुने र मुलुकलाई आवश्यक पर्ने जति पनि औषधि पनि उत्पादन गर्न सक्छौ । हामी स्वदेशलाई चाहिने औषधि उत्पादन गर्न सक्षम छौं ।
नेपाल फर्मा एक्स्पो किन आवश्यक छ ?
एक्स्पोको मुख्य उद्देश्य नेपाली औषधिलाई चिनाउने नै हो । नेपालमा करिव ८४ वटा औषधि उद्योग रहेका छन् । नेपाली उद्योगले गुणस्तर, प्रभावकारी र सस्तोमा औषधि उत्पादन गर्दछन भनेर सर्वसाधारणलाई जानकारी दिनका हामीले हरेक दुई–दुई बर्षमा एक्स्पो गर्न थालेका हौ ।
नेपालका औषधि भारत लगायत विदेशी औषधिको तुलनामा कतिको गुणस्तर र सस्तो छ ?
कुनै पनि नेपाली उद्योगले उत्पादन गरेको औषधि नराम्रा छैनन् । यहाँका औषधि विश्व स्वास्थ्य संगठनको मापदण्ड, जिएमपीमा नै रहेको छ । नेपाली उद्योग कुनै पनि विदेश उद्योगसंग प्रतिस्पर्धा गर्न योग्य छन् ।
यस्तै अहिले औषधिको बजारभाउ धेरै नै माथि पुगिसकेको अवस्था छ । तर हामीले अझै पनि पुरानै मूल्यमा सस्तो दरमा औषधि उपलब्ध गराएका छौ । २०६४ सालदेखि हामीले औषधिको मूल्य समायोजन गर्न पाएका छैनौ । हामीले मुलुकको अवस्था हेरेर अहिले सस्तो दरमा औषधि उपलब्ध गराएका छौं । यहाँका नागरिकको पर क्यापिटा इनकम , क्रयशक्ति हेरेर र भारतसंग दाँजेर नै हामीले सस्तोमा औषधि उपलब्ध गराएका हौं ।
भारतमा एक अर्ब ३० करोड मानिस रहेका छन् । भारतले त्यही अनुपातमा औषधि उत्पादन गर्दछ । तर पनि महंगोमा नै बेच्ने गर्दछ । हामी तीन करोड जनसंख्यालाई लक्षित गरेर औषधि उत्पादन गर्दछौ तर पनि हामी सस्तो र गुणस्तरीय औषधि उत्पादन गरिरहेका छौ ।
औषधि व्यवस्था विभागबाट हाम्रो बारम्बार अनुगमन हुन्छ । विभागको मापदण्ड विश्वशनीय रहेको छ । त्यसैले हामी गुणस्तरमा ध्यान दिन्छौ । हाम्रो औषधिका गुणस्तर विश्वका अन्य औषधिको तुलनामा नै रहेको छ ।
औषधि खाएपछि त्यो औषधिले काम गनुपर्दछ । त्यसैले हामीले गुणस्तरसंगै असरदार औषधि बनाएका छौं । नेपालका औषधि गुणस्तरीय, किन्ने सक्ने र असरदार छन् । यी तिनै वटामा सुचकमा हामी रहेका छौ ।
औषधि उद्योगहरु किन बन्द हुदै गएका होलान ?
हाम्रा आफ्नै पनि केही कमजोरी रहेका छन् । उद्योग बन्द हुनुमा विभिन्न अरु पनि आफ्नै कारण होलान् । तर बजारमा अहिले आर्थिक मन्दी छ । त्यसैले गर्दा हामी प्रतिस्पर्धा गर्न सकेका छैनौ । कतिपय उद्योगी साथीहरुले एकै किसिमका प्रडक्ट र नयाँ–नयाँ प्रविधि ल्याउन सकेका छैनौ । हामीले अरुले जे गर्यो त्यही गर्ने बानी रहेको छ । औषधि उद्योगमा पनि एकै खालका औषधि उत्पादनले पनि समस्या परेको छ । हामी अलि फरक ढंंगले उद्योगलाई लैजाने कोसिस गरिरहेका हुन्छांै तर कुनै कारण हुन सक्दैन । दोष हामी आफैमा छ ,अरुलाई दिनुहुँदैन ।
अर्को कुरा सरकारले पनि हामी उद्योगीलाई संरक्षण गर्ने खालका नीति ल्याउनु पर्दछ । सरकारले खरिद गर्ने औषधि स्वदेशी उत्पादनका औषधि खरिद गरिदिने हो भने हामीलाई उद्योग बचाउन सजिलो हुन्छ ।
सरकारको सहयोग किन भइरहेको छैन ?
सरकारले हामीलाई हेर्ने नजरमा परिवर्तन गरोस भनेर नै फर्मा एक्स्पो गर्न थालेका हौं । सरकारलाई हाम्रा कुरा सबै थाहा नहुुन सक्छ । हामी आफैलाई पनि सबै बिषय थाहा छैन । विस्तारै बुझ्दै छौ । सरकार समक्ष हामीले हाम्रा कुरा पुर्याउन सकेनौं जस्तो लाग्छ । हामीले आफ्ना कुरा आफैले सरकार समक्ष राख्नुपर्यो । हो त्यही कुरा सरकारलाई पुर्याउनका लागि एक्स्पो गर्न थालेका हौ ।
नयाँ औषधि ऐन आइरहेको छ । नेपाली औषधि उद्योगका लागि के कुरा नयाँ ऐनमा राख्नुपर्दछ ?
नयाँ बन्न थालेको औषधि ऐनमा धेरै राम्रा कुरा रहेका छन् । मूल्य समिति गठन गरेर औषधिको मूल्य समायोजन गरिने कुरा राखेको सुनेको छु । त्यो एकदम राम्रो हो । विगत १६ बर्षदेखि औषधिको मूल्य समायोजन हुन सकेको थिएन । पुरानो औषधि ऐनमा कुनै वाधा अडचन छ भनेर नयाँ बन्न थालेको औषधि ऐनमा फुकाउनुपर्दछ ।