झापा । बाँझोपना अर्थात् निःसन्तानको समस्या पछिल्लो समय बढिरहेको यसका विज्ञ चिकित्सक तथा जानकारहरूले औँल्याएका छन् । जीवनशैलीमा आएको परिवर्तन, विवाह ढिलो गर्नु, वैदेशिक रोजगारका कारण, कतिपय दम्पतीको स्वास्थ्यका कारण निःसन्तानको समस्या देखिएको चिकित्सकहरूको भनाइ छ ।
दमकमा विगत १६ वर्षदेखि महिलाको प्रसूति सेवा दिँदै आएको ॐ मेची अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.शङ्करप्रसाद हुजदार निःसन्तान हुने समस्या बढेको बताउनुहुन्छ । उहाँका अनुसार सरदर १० देखि १४ प्रतिशत जोडीमा निःसन्तानको समस्या देखिने गरेको छ । तीमध्ये करिब सात प्रतिशतमा भने निःसन्तानको समस्या अर्थात् बाँझोपनाका कारण नै पत्ता लाग्न नसकिरहेको हुजदारले बताउनु भयो ।
उहाँले स्वास्थ्यका दृष्टिकोणबाट सबै ठिकठाक हुँदाहुँदै पनि सन्तान नहुने समस्या देखिएको र त्यसका कारण यही नै हो भन्ने यकीन अझै नहुन नसकेको बताउनुभयो । जीवनशैलीमा आएको परिवर्तन, पत्रुखानाको सेवन, मदिरापान, सुर्तीजन्य पदार्थको सेवन र असुरक्षित यौनसम्पर्कका कारण पनि महिला तथा पुरुषमा बाँझोपनाको समस्या देखिएको उहाँले बताउनुभयो ।
किशोर अवस्थामै प्रेमीप्रेमिकाबीच असुरक्षित यौनसम्पर्कका कारण पटकपटक गर्भ तुहाउने, यौन रोगलगायतका स्वास्थ्य समस्याले पनि बाँझोपना देखिएको उहाँको भनाइ छ । उहाँले सन्तान जन्माउने उमेरमा बिहे नगर्ने चलन बढ्दै जानु र उमेर ढल्किँदा बिहे गर्ने कारणले पनि दम्पतीबिच बाँझोपनाले निःसन्तानको समस्या आएको हुनसक्ने बताउनुभयो । निःसन्तानको समस्या न्यूनीकरण गर्न बाँझोपनाको समस्या झेल्दै आएका अभिभावकले स्वास्थ्य उपचारमा जोड दिनुपर्ने बोगटी बताउनुहुन्छ ।