मेरो जीवन यात्रा र कार्य अनुभव : [ प्रा.डा.लोक बहादुर सेढाई ]
मेरो जन्म २०१९ सालमा धादिङ्गको गजुरीमा जन्म भई २०३१ साल देखि पूर्वी चितवनको बसाई सराई पश्चात एक मध्यमवर्गीय परिवारको एक्लो छोरो भएकोले पनि होला, बाबु–आमाले पढेर सुब्बा हुनुपर्छ भन्ने आशिर्वाद प्राप्त भएकोले पढाईमा म सानैदेखि अब्बल नै थिएँ ।
कक्षा १ देखि कक्षा १० सम्म सधैं प्रथम हुँदै २०३४ सालको एस.एल.सी. परीक्षामा बिरेन्द्र आदर्श मा.वि.चितवनबाट स्कुलकै पहिलो पटक प्रथम डिभिजनमा पास गर्ने एक्लो विद्यार्थी थिएँ म । त्यसपछि के पढ्ने, के गर्ने,केही थाहा थिएन र केही समय भौंतारिएर शिक्षकको जागिर खान खोज्दा पनि नपाएपछि केही साथीहरुसंग मिलेर अनजान शहर काठमाण्डौ हानिएँ ।
त्यसपछि पुल्चोक ईन्जिनियरिङ्ग क्याम्पसमा ओभरसियर र महाराजगञ्ज मेडिसिन क्याम्पसमा इन्ट्रान्स दिएँ । ओभरसियर छाडेर ६ महिना पर्खेर महाराजगञ्जमा हेल्थ असिस्टेन्ट पढ्न भर्ना भएर २०३५/२०३६ सालको अवस्थाले गर्दा ४ वर्ष लगाएर पास भएँ । धरेै साथीहरु छात्रवृत्तिमा रसिया पढ्न जाँदा पनि म घरको एक्लो सन्तान भएकैले देशमै बसेर ईलाम,ताप्लेजुङ, रौतहटमा जागिर खाँदै पुनः महाराजगञ्जबाट एम.बि.बि.एस. र एम.डि. (प्रसूति तथा स्त्रीरोग विषयमा) विशेषज्ञता प्राप्त गरपेश्चात चितवनमा बसेर सेवा गर्ने मौका पाएँ ।
त्यही शिलशिलामा केही मिल्ने साथीहरु मिलेर मेडिकल कलेज खोलौं भन्ने हुटहुटी जाग्यो र सरकारी जागिरलाई छोडी चितवन मेडिकल कलेजमा प्रमोटर सेयर होल्डर भई शुरुवाती अवस्थादेखिनै प्रसूति तथा स्त्रीरोग विभागको नेतृत्व गर्दै १० वर्षसम्म प्राध्यापक भई काम गरेर हाल म एन.पि.आई.नारायणी सामुदायिक हस्पिटलको पूर्णकालीन प्राईभेट कन्सल्टेन्टको रुपमा कार्यरत छु ।
मैले हालसम्म मेजर शल्यक्रिया करीब पचास हजारवटा र मेजर र माईनर गरी झण्डै एक लाखको हाराहारीमा शल्यक्रिया गरिसकेको छु । यस अवधिमा नेपाल चिकित्सक संघ चितवन शाखाको अध्यक्ष र प्रसूति तथा स्त्रीरोग चिकित्सक समाज बागमती च्याप्टरको समेत अध्यक्ष भई चिकित्सक पेशागत हक हितको लागि नेतृत्वदायी भूमिका निभाउँदै आईरहेको छु ।
चितवन जिल्ला स्वास्थ्य नगरीको रुपमा विकसित भईरहेको अवस्था र यस जिल्लामा कैयौं स्वास्थ्य संस्थाहरु आपंmैमा सक्षम हुँदै जनमानसमा “स्वास्थ्य उपचार गर्न चितवन जानुपर्छ” भन्ने भावना विकसित भईरहेको अवस्थामा प्रसूति तथा स्त्री रोग विशेषज्ञहरुको जमात उल्लेख्य संख्यामा (करिब ५० जना) रहेको हुँदा र प्रसूति तथा स्त्रीरोग सम्बन्धी सेवा सुविधा तथा जटिल खालका रोगको शल्यक्रिया सुविधा समेत रहेको छ । तथापि जनशक्ति र बीमा कार्यक्रमको असमान वितरणले गर्दा कहीँ सीमित जनशक्तिबाट विरामीको चाप थेग्न नसकी आवश्यकता तथा चाहना अनुसार विशेषज्ञ सेवा पाउन गाह्रो हुने अवस्था विद्यमान छ ।
त्यसैगरी भएका जनशक्तिबाट पनि तालिम र आर्थिक कारणले गर्दा स्वास्थ्य संस्थाहरुबाट सेवाको गुणस्तर वृद्घि गर्न नसकी अति विशिष्टिकृत सेवा ( Super Speciality Service) को विस्तार खासै सन्तोषजनक हुन सकेको पाइँदैन । यहाँ भएका सरकारी अस्पताल,क्यान्सर अस्पताल,दुईवटा मेडिकल कलेज र एन.पि.आई.नारायणी सामुदायिक अस्पताल जस्ता पूर्णकालीन (Multispeciality) दिन सक्षम संस्थाहरुमा बीमा कार्यक्रम र आमा सुरक्षा कार्यक्रम लागुगरी संस्थाको क्षमता वृद्घि गरेर जनशक्तिलाई उचित तालिम,सेमिनारको माध्यमबाट अति विशिष्टिकृत सेवा प्रवाहको वातावरण तयार गर्ने हो,भने सही अर्थमा समय सापेक्ष सेवाको गुणस्तर कायम भई सामान्य सुत्केरी देखि बाँझोपन र अन्य विशिष्टिकृत सेवा जनस्तरको पहुँचमा पुग्न सके मातृमृत्युदर कम गर्न मद्दत पुग्ने हुँदा सम्बन्धित निकायको ध्यान यसतर्फ जानु पर्दछ ।
लेखक प्रा.डा.लोक बहादुर सेढाई चितवन स्थित एन.पि.आई.नारायणी सामुदायिक अस्पतालमा बरिष्ठ स्त्री तथा प्रसूति रोग विशषेज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।