बुलिङटार । ग्रामीण क्षेत्रमा बसोवास गर्ने आमनागरिकको दैनिकी आफैमा कष्टकर हुनेगर्दछ । त्यसमा रोग प्रभावित र शारीरिक रुपमा अशक्त,अपाङ्गताहरुको अवस्था झन स्वभाविक रुपमा दयनिय छ ।
यसै विषयलाई मध्यनजर गर्दै नवलपुर जिल्लाको पहाडी भेग बुलिङटार गाउँपालिकामा बसोवास गर्ने अशक्त तथा अपाङ्गता नागरिकहरुको दैनिकी सहज बनाउने उदेश्यले चितवनस्थित समिट हेल्थ केयर अस्पताल प्रा.लि.भरतपुरको आर्थिक सहयोगमा निःशुल्क व्हील चेयर वितरण गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख अशोककुमार श्रेष्ठले बताउनु भयो ।
बुलिङटारमा आयोजित एक कार्यक्रमका बीच अस्पतालका प्रबन्ध निर्देशक तथा बरिष्ठ अर्थोपेडिक सर्जन डा.गौरव न्यौपानेले बुलिङटार गाउँपालिका ३ नं. वडा अध्यक्ष बिष्णु बिर जर्घा मगर र पालिकाका प्रशासकीय अधिकृत सिता राम खनाललाई ५ थान व्हील चेयर हस्तान्तरण गर्नुभएको हो ।
व्हील चेयर वितरण कार्यक्रममा बोल्दै अध्यक्ष बिष्णु बिर जर्घा मगर र प्रशासकीय अधिकृत खनालले अस्पतालले विकट पहाडी भेगमा रहेको आफ्नो स्थानीय तहमा उपस्थित भएर अशक्त र अपाङ्गता नागरिकहरुप्रति गर्नुभएको मानवीय कार्यको प्रसंशा गर्नुभएको थियो ।
समिट हेल्थ केयर अस्पताल प्रा.लि.का प्रबन्ध निर्देशक डा.न्यौपानेले पहिलो पटक गरिएको यो व्हील चेयर वितरण कार्यक्रममा ६० हजार लागत बराबरको सहयोेग गरिएको बताउँदै पछिल्ला समयमा अस्पतालको सामाजिक उत्तरदाइत्व कार्यक्रम अनुसार यस मानवीय कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।