चितवन । केन्द्रिय अस्पतालको रुपमा परिचित एवं २२ जिल्लाका बिरामी नियमित जसो उपचार गर्न आउने चितवनको भरतपुर अस्पतालमा रेबिजविरूद्धको खोप (भ्याक्सिन)को अभाव भएको छ । दशदिन देखि सरकारी अस्पताल भरतपुरमा खोप सकिदा दैनिक ६० जना भन्दा बढी बिरामी प्रभावित भएका छन । खोप सकिएपछि बिरामी आफैँले किनेर खोप लगाउन बाध्य भएका छन् । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले खोप सकिएपछि बिरामीले आफैंले किनेर ल्याएको खोप लगाईदिने गरेको बताउनु भयो ।
‘अस्पतालमा खोप सकिएपछि बिरामी आफैँले बाहिरबाट ल्याएर लगाइदिने गरेका छौँ’, उहांँले भन्नुभयो, ‘हामीसँग खोप नहुँदा जीवजन्तुले टोकेर उपचारका लागि आउनेहरु प्रभावित भएका छन् ।’ उहांँका अनुसार भरतपुर अस्पतालमा कम्तीमा ६० जनाले दैनिक रेबिजविरूद्धको नयाँ खोप लगाउँदै आएका छन् ।
सरकारी अस्पतालमा ३०० रूपैयाँ शुल्कमा रेबिजविरूद्धको खोप लगाउन पाए पनि निजीबाट ल्याउनु परेपछि बिरामीले कम्तीमा पनि एकपटकका लागि ६०० रूपैयाँभन्दा बढी खर्च गर्नु परेको उहांँले बताउनु भयो । ‘निजी मेडिकलहरुमा कम्पनीअनुसार फरक मूल्य पर्छ’, उहांँले भन्नुभयो, ‘त्यसकारण बिरामीले अहिले ६०० देखि ८०० रूपैयाँसम्म पैसा खर्च गर्न बाध्य भएका छन् ।’
‘सरकारले नपठाएपछि हामीले पनि बिरामी आफैँलाई ल्याउन लगाउनु परेको छ,’ उहांँले भन्नुभयो, ‘हामीले संघीय सरकार र प्रदेश सरकारसँग माग गरिरहेका छौँ । तर, केही समय लाग्छ होला ।’
चितवनमा अधिकांश बिरामी चितवनसहित गोरखा, तनहुँ, नवलपरासी बर्दघाट सुस्तापूर्व र बर्दघाट सुस्तापश्चिम, मकवानपुरलगायतका जिल्लाबाट आउने गरेका छन् ।
त्यसमध्ये करिब ९० प्रतिशत बिरामी कुकुरले टोकेकाहरु आउने गरेका छन् । त्यसबाहेक बिरालो, स्याल, बाँदर, न्याउरीमुसा, मुसा लगायतका जीवजन्तुले टोकेका बिरामी पनि छिटपुटरुपमा आउने गरेका उहांँले बताउनु भयो ।