बेलवारी (मोरङ) । इन्ट्रा फाउण्डेसनको सहयोगमा प्राप्त दुई वटा एम्बुलेन्स यहाँस्थित दुई वटा शिविरमा प्रयोग गर्ने गरी पथरी र दमक नगरपालिकाहरुलाई प्रदान गरिएको छ । दमकमा रहेको बेलडागी शिविर र पथरीको शनिश्चरे शिविरलाई आज एक कार्यक्रमका बीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले एम्बुलेन्स हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा उहाँले मोरङको पथरी शनिश्चरे–१० मा स्वास्थ्यचौकीको शुभारम्भ समेत गर्नुभयो । सो स्वास्थ्यचौकी उक्त फाउन्डेसनको सहयोगमा निर्माण भएको हो । भुटानबाट नेपाल हँुदै तेस्रो मलुक पुनःस्थापनाका क्रममा छुटेका भुटानी शरणार्थीलाई लक्षित गर्दै स्वास्थ्य चौकी सुरु गरिएको हो । इन्ट्रा फाउण्डेशन र फाउन्डेसनका संस्थापक डिल्ली अधिकारीको सामुदायिक परियोजनाअन्तर्गत शिविरमा पाँच शय्याको स्वास्थ्य चौकी सुरु गरिएको जनाइएको छ ।
सोही अवसरमा उक्त फाउन्डेसनको सहयोगमा निर्माण भएको इन्ट्रा भवनको पनि उहाँहरुले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । सो भवन सामुदायिक सेवाका लागि बहुउपयोग गर्न सकिने बताइएको छ ।
त्यसअवसरमा मुख्यमन्त्री कार्कीले विश्वभरि छरिएर रहेका नेपाली लगानीकर्ताका लागि कोशी प्रदेशमा लगानी गर्न आह्वान गर्नुभयो । उहाँले कोशी प्रदेशमा लगानी गर्न आग्रह गर्दै लगानीका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो ।
उहाँले इन्ट्रा फाउन्डेसन र संस्थापक डिल्ली अधिकारीले पु¥याउनुभएको योगदानको चर्चा गर्दै शिविर सञ्चालन र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारले लिने समेत उल्लेख गर्नुभयो । साथै मुख्यमन्त्री कार्कीले संसारभरका नेपाली जातीलाई नेपाली भाषा र संस्कृतिका माध्यमबाट जोड्नका लागि सो फाउन्डेसनल र त्यसमार्फत अधिकारीले गर्नुभएको पहलको पनि प्रशंसा गर्नुभएको थियो ।
इन्ट्रा फाउण्डेशनका संस्थापक डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीलाई एकजुट गराउने उद्देश्यका साथ इन्ट्रा फाउण्डेसन अफ अमेरिकाको स्थापना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “इन्ट्रा फाउण्डेशनले विश्वका जहाँ–जहाँ नेपाली छन् त्यहाँ–त्यहाँ नेपालीको पहिचान र संरक्षणका लागि काम गर्दै आएको छ । यसको मूल उद्देश्य नेपाल र नेपालीको सेवा गर्नु हो ।”
सो फाउन्डेसनले पूर्वी नेपालका यी शिविरहरुमा रहेका अशक्त तथा ज्येष्ठ नागरिकहरुलाई आर्थिक सहायता पनि उपलब्ध गराउँदै आएको छ ।रासस