काठमाडौँ । क्यान्सरपीडित सेफ प्रेमलाल घिसिङलाई आर्थिक सहयोग गरिएको छ । अन्तर्राष्ट्रिय नेप्लिज सेफस् सोसाइटी युकेका अध्यक्ष एवं नेपाल सेफ एसोसिएसनका संस्थापक महासचिव अर्जुनबहादुर थापाले क्यान्सरपीडित सेफ घिसिङलाई रु ५० हजार आर्थिक सहयोग गर्नुभएको हो । थापाले आज घिसिङ निवास कोटेश्वरमा पुगेर रकम प्रदान गर्नुभएको हो ।
नेपाली रैथाने खानाको खोज, अनुसन्धान र बजारीकरणमा भूमिका निर्वाह गर्नुभएका सेफ घिसिङ करिब १५ वर्षदेखि यस क्षेत्रमा कार्यरत हुनुहुन्छ । उहाँ पछिल्लो नौ महिनादेखि सानो आन्द्राको क्यान्सरसँग जुधिरहनुभएको छ । काठमाडौँका प्रख्यात तारे होटलमा सेफको काम गर्नुभएका उहाँले गेट कलेजबाट हस्पिटालिटी व्यवस्थापनमा स्नातक तहको अध्ययन पूरा गर्नुभएको छ ।
रैथाने खाना, लोक परिकार अनुसन्धान सङ्कलकसहित एक सय एक दिनको खोजी यात्राका अभियान र खोजीकर्ता ३२ वर्षीय घिसिङले आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको बताउनुभएको । उपचारमा हालसम्म झण्डै रु ४० लाख खर्च भइसकेको उहाँको भनाइ छ ।
घिसिङले यस वर्षको रैथाने खानाको खोजी, अध्ययन र नेपाली खानाको प्रवद्र्धन गर्न सोसाइटीले स्थापना गरेको रु ५० हजार राशिको ‘आइएनसीएस ग्लोबल रैथाने फुड अवार्ड २०२३’ प्राप्त गर्नुभएको थियो ।
विसं २०४० मा सोल्टी होटल काठमाडौँबाट काम सुरु गर्नुभएका बेलायत निवासी थापा गत वर्षदेखि द चेडी होटल अन्डरमार्ट स्वीट्जरल्याण्डमा सेफका रुपमा कार्यरत हुनुहुन्छ । अध्यक्ष थापाले सेफ घिसिङको उपचारका लागि विभिन्न सेफबाट सङ्कलित रु दुई लाख ६० हजार यसअघि प्रदान गरिएको जानकारी दिनुभयो ।
विशुद्ध पेसागत संस्थाका रुपमा बेलायतको कम्पनी हाउसमा सन् २०२० मा अन्तर्राष्ट्रिय नेप्लिज सेफ सोसाइटी युके गठन भएको थियो । यसले स्थापनादेखि नै नेपालभित्र र बाहिरका नेपाली सेफको व्यावसायिक क्षमता विकास र रैथाने नेपाली खानाको प्रवद्र्धनमा योगदान दिँदै आएको सोसाइटीका मेन्टर सूर्यकिरण श्रेष्ठले बताउनुभयो । रासस
