जुम्ला, जुम्लामा आँखाको मोतीबिन्दु सम्बन्धी बिरामी भएका लागी नि:शुल्क शल्यक्रिया सुचारु गरिएको छ । नेपाल नेत्रज्योति संघ जुम्लाको आयोजनामा जुम्ला सदरमुकाममा मोतीबिन्दुको समस्या भएका बिरामीको शल्यक्रिया सुरु गरिएको हो ।
नेत्रज्योति संघ जुम्लाका अध्यक्ष धनबहादुर रोकायाले जुम्लामा आँखामा समस्या भएका बिरामीलाई घरआँगनमै सेवा दिने उद्देश्यले नि:शुल्क शल्यक्रिया गरिएको बताए । शिविरमा एक हजारभन्दा बढी आँखाका समस्या भएका नागरिकले उपचारका लागि नाम दर्ता गराएका छन् ।
हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोग, सिविएम नेपाल र नेपाल नेत्रज्योति संघको आर्थिक सहयोगमा ३८औं नि:शुल्क मोतीबिन्दु सम्बन्धी शल्यक्रिया गरिएको छ ।
पहिलो दिन ६ सय जनाको परीक्षण गरिएको छ । हिमालयन आँखा अस्पतालका नेत्र अधिकृत गोविन्दनाथ योगीका अनुसार पहिलो दिनमै मोतीबिन्दुका ९० जना बिरामी भेटिएका छन् । उहाँहरूलाई छुट्टै राखिएको र २७ जनाको शल्यक्रियासमेत गरिएको बताइएको छ ।