वीरगञ्ज (पर्सा) । वीरगञ्जस्थित प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय वीरगञ्जलाई १० शय्याको अस्पताल विस्तार गर्ने योजना अधुरै रहेको छ ।
मधेस प्रदेश सरकारले गत आवमा चिकित्सालयलाई १० शय्याको अस्पताल विस्तार गर्नका लागि रु एक करोड बजेट पनि विनियोजन गरेको थियो तर विनियोजित बजेट निकाशा नगर्दा अस्पताल विस्तार गर्ने योजना धुरै रहेको हो ।
चिकित्सालयका कार्यालय प्रमुख डा शिवनारायण प्रसाद गुप्ताले अस्पतालको स्तरोन्नति गर्ने विगतदेखिकै योजनामा गत वर्ष मधेस सरकारले बजेट विनियोजन गरेपछि उत्साहित भए पनि रकम निकाशा नगर्दा योजनाअघि बढ्न नसकेको बताउनुभयो । ‘‘गत आवमा विनियोजित बजेट निकाशा पाएको भए हामीले १० शय्याको सेवा थप गर्ने थियौँ । बिरामीको आयुर्वेद चिकित्सालयतर्फ आकर्षण बढिरहेको छ । प्रदेश सरकारले सोही अनुसारको चासो नदिँदा भने शय्या विस्तार योजनाले मूर्तरूप पाउन सकिरहेको छैन”, उहाँले भन्नुभयो, “‘प्रदेश सरकारले फेरि चालु आवमा १० शय्या स्तरोन्नति गर्ने भनेर रु एक करोड विनियोजन गरेको छ । उक्त रकम तत्कालै निकासा गरेर शय्या थप गर्ने वातावरण गराउन हामीले अनुरोध गरिरहेका छौँ ।”
मधेस प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रमोद यादवले चिकित्सालयमा गत आवमा विविध कारणले शय्या थपको काम नभए पनि चालु आवमा भने काम अघि बढ्ने बताउनुभयो । ‘‘मधेस प्रदेशमा भएका चिकित्सालयमध्ये वीरगञ्जले राम्रो सेवा दिँदै आइरहेको छ । त्यसैले पनि यो वर्ष १० शय्या विस्तार गर्ने कार्यले प्राथमिकता पाउनेछ । समयमै बजेट कार्यान्वयनको वातावरण बनाउने छौँ”, उहाँले भन्नुभयो ।
चिकित्सालयका प्रमुख डा गुप्ताले कार्यालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) नहुँदा पनि कर्मचारी व्यवस्थापनमा समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो,“प्रदेश सरकारले तत्कालै ओएनएम सर्वेक्षण गरेर सोहीअनुसार कर्मचारीको पनि व्यवस्थापन गर्न जरुरी भइसकेको छ । त्यसपछि चिकित्सालयको सेवा अझै व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन सहज हुने थियो ।”
स्वीकृत दरबन्दीमा सात कर्मचारी रहेका यस चिकित्सालयमा करारसहितका थप आठ कर्मचारीले सेवा दिइरहेका छन् । जसमा एक जना स्थायी चिकित्सक, दुई जना छात्रवृत्तिमा अध्ययनरत चिकित्सक र एक जना होमियोपेथिक उपचार गराउने करारका चिकित्सक रहेका छन् । प्रमुख गुप्ताले १० शय्याको अस्पताल विस्तार गर्ने हो भने दशौँसम्मका चिकित्सक, तीन जना नर्स, सरसफाइ कर्मचारी र क्यान्टिनसहित अन्य अत्यावश्यक संरचना पनि विस्तार गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।
चिकित्सालयले आव २०८०÷८१ मा आव २०८०÷८१ मा ५५ हजार एक सय ७६ जना बिरामीले उपचार गराएका छन् । त्यस्तै आव २०७९÷८० मा भने १७ हजार छ सय २९ जना बिरामीले आयुर्वेद पद्धतिबाट उपचार गराएका थिए । कार्यालयले अहिले बहिरङ्ग सेवा, ज्येष्ठ नागरिकको लागि स्वास्थ्य प्रवर्द्धन सेवा, स्तनपायी आमा दूधवर्धक औषधि वितरण कार्यक्रम, योग कार्यक्रम, पञ्चकर्मअन्तर्गत पुर्वकर्म कार्यक्रम सेवा, ल्याव सेवा, क्षारसुत्र, क्षारकर्म, अग्निकर्म, जलौकावचरण (लिच थेरापी) र मर्म थेरापीलगायत सेवा दिँदै आइरहेको छ । रासस
