गण्डकी । गण्डकी प्रदेशमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न हेमोडायलसिस रेकर्ड मनिटोरिङ प्रणालीको विकास गरिएको छ ।
राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा उक्त सफ्टवेयर निर्माण गरिएको हो । सफ्टवेयरको एक कार्यक्रमका बीच आज गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुुकुमार थापाले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा मन्त्री थापाले सफ्टवेयरका माध्यम प्रदेशमा भएका डायलासिस गर्ने बिरामीको सही तथ्याङ्कका विषयमा जानकारी लिन मद्दत पुुग्ने बताउनुुभयो ।
यो प्रणालीसँगै एउटा अस्पतालबाट उपचारका लागि अर्को अस्पताल जाँदा पनि दोहोरोपन नहुने तवरले उपचार गर्न सहायक सिद्ध हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । “डायलासिस गर्ने विरामीको वास्तविक तथ्याङ्क प्राप्त गर्न सफ्टवेयर सहायक सिद्ध हुनेमा विश्वस्त छुु”, उहाँले भन्नुुभयो, “तथ्याङ्कअनुसार सेवा प्रवाहमा सहजता बनाउन सफ्टवेयरका माध्यम मदत पुुग्नेछ ।” प्रदेशको डायलासिस सेवालाई सरल बनाउन सफ्टवेयरले सहयोग पुग्ने उहाँको भनाइ छ ।
स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव विनोदविन्दु शर्माले प्रदेश सरकारले निःशुल्क रुपमा डायलासिस सेवा प्रदान गर्दै आएको बताउनुुभयो । उहाँका अनुसार वर्षमा ८० देखि ८५ करोड रकम मात्र डायलासिस सेवा प्रवाहमा प्रदेश सरकारले लगानी गरेको छ ।
प्रदेश सरकारले अब निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने विषयलाई पनि सोच्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुुभयो । तथ्याङ्कअनुसार प्रदेशका ४१ अस्पतालको १७ युनिटबाट डायलासिस सेवा प्रवाह गरिएको छ । प्रदेशमा सात सय ७३ जनाले डायलासिस सेवा लिइरहेका छन् । रासस
