काठमाडौं । एन्टीमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) सम्बन्धी साउथ एशिया रिजनल मिडिया वर्कशप काठमाडौंमा सम्पन्न भएको छ । हेल्थ टिभी अनलाइनको मुख्य आयोजना तथा ग्लोबल एएमआर मिडिया अलायन्स (गामा), सीएनएस, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल हेल्थ रिसर्च काउन्सिल, हेल्थ आवाज लगायतको सह आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
भर्चुअल र इन पर्सन गरी हाइब्रिड मोडमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल रहनु भएको थियो । सो अवसरमा बोल्दै डा.पोख्ररेलले एएमआर अहिलेको प्रमुख जनस्वास्थ्य समस्या मध्ये एक रहेकोले यसकाबारेमा सबै सरोकारवालाहरुको ध्यान जान जरुरी भइसकेको बताउनु भयो । उहांँले यो जल्दोबल्दो समस्याकाबारेमा मिडिया पनि सचेत भई सही सूचना सम्प्रेषण गरेमा केही हदसम्म एएमआरको समस्या कम गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता मिश्राले एन्टीबायोटिकको जथाभावी प्रयोगबाट हुने हानीकाबारेमा मिडियाले अझ बढी कलम चलाउनुपर्ने बताउनुु भयो । उहांँले मिडियाले नागरिक र एन्टीबायोटिक प्रेस्क्राइब गर्ने चिकित्सकलाई पनि प्रश्न गर्र्नु पर्नेमा जोड दिनुभयो ।
यस्तै सीएनएस इन्डियाकी म्यानेजिङ एडिटर तथा ग्लोबल एएमआर मिडिया अलायन्सकी चेअरपर्सन शोभा शुक्लाले एन्टीबायोटिकको जथाभावी प्रयोगले निको हुने रोगहरु पनि समय लाग्ने र जटिल हुँदै गएको बताउँदै यसकाबारेमा घनिभुत छलफल गर्न आवश्यक भइसकेको धारणा राख्नुभयो ।
कार्यक्रममा हेल्थ टिभी अनलाइनकी सम्पादक तथा साउथ एशिया रिजनल मिडिया वर्कशप टु प्रिभेन्ट एएमआरकी अर्गनाइजिङ चेअरपर्सन कल्पना आचार्यले एन्टीबायोटिकको जथाभावी प्रयोगकाबारेमा समाचार, लेख मिडियामा कम आउने गरेको र मिडियालाई पनि प्राविधिक विषयमा कम ज्ञान भएको बताउनु भयो र्। ै उहांँले एएमआरकाबारेमा सरकारले प्राथमिकताकासाथ संचारकर्मीमाझ छलफल र अन्तरक्रिया चलाउन पर्नेमा जोड दिनुभयो । कार्यक्रममा विश्व स्वास्थ्य संगठन नेपालका प्रमुखले एन्टीमाइक्रोबियल अहिले १० जनस्वास्थ्य थ्रेटमध्ये एक रहेको भन्दै यसमा सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा सम्झना काफ्ले, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा प्रमोद जोशी, एपोनका अध्यक्ष महेश प्रधान, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिवद्धय डा टंक बाराकोटी, विकास देवकोटा,कृषि तथा पशुपंक्षी विभागका महानिर्देशक डा उमेश दाहाल, फार्मेसी काउन्सिलका अध्यक्ष प्रज्ववल जंग पाण्डे, अनुसन्धानकर्ता डा समीर मणी दिक्षित, लगायतले एएमआरका बिषयमा आ–आफ्ना धारणा राख्नु भएको थियो ।
कार्यक्रममा एन्टीमाक्रोबियल सम्बन्धी जोडिएका विविध विषयमा विज्ञहरुद्धारा प्रस्तुतीकरण समेत रहेको थियो भने एएमआरलाई कम गर्न मिडियाको कस्तो भूमिका हुनसक्छ भन्ने विषयमा संचारकर्मीमाझ छुट्टै प्यानल छलफल समेत भएको थियो ।
