नयाँदिल्ली । भारतमा कोरोना महामारीको समयमा भारतमा नक्कली औषधीको विगविगी बढेको एक अनुसन्धानले देखाएको छ । कतिपयले त अझ यो मौका छोपी मोटो रकमसमेत आर्जन गरेका छन् ।
नक्क्ली औषधीको प्रयोगले शारिरीक रुपमा हानी गर्छ भन्ने कुरा जान्दा जान्दै पनि कोरोना महामारीका कारण स्वास्थ्य संकटकाल लागू गरेको भारतमा उक्त समयमा त्यस्ता औषधीको उल्लेख्य व्यापार भएको पाइएको छ ।
हुन त यो समस्या भारतमा मात्र छैन । विश्वमै नक्कली औषधीको प्रयोग बढ्दै गएको छ । सक्कली र नक्कली छुट्याउन नसक्दा प्रभावित हुने त सर्वसाधारण नै हुन् । कोरोना महामारीमा हस्पिटालिटी तथा टुरिजम क्षेत्र प्रत्यक्ष प्रभावित भएपनि स्वास्थ्यक्षेत्रसँग सम्वन्धित् औषधी उत्पादक कम्पनी तथा औषधीको बजार अत्यधिक राम्रो भयो ।
अझ भन्ने हो भने यहि समयको मौका भने नक्कली औषधी उत्पादन गर्ने व्यक्तिहरुले लिए । उनीहरुले कोरोना महामारीमा आवश्यक पर्ने औषधीको मौका छोपेर बजारमा नक्कली औषधी छ्याप – छ्याप्ती बनाए । र राम्रो मुनाफा कमाए ।
भारतको गैर सरकारी संस्था अथन्टिकेशन सोलुसन्स प्रोभाइडर एशोसिएशन(एएसपा) का अनुसार कोरोना कालमा नक्कली औषधीको बजार हिस्सा ४७ प्रतिशत रहेको थियो । ४७ प्रतिशत बजार हिस्सा मध्ये अधिकांश कोरोनासँग सम्वन्धित् नक्कली औषधी थिए । खासगरी यस्ता नक्कली औषधीमा भ्याक्सिन, अन्य औषधी, कोभिड टेस्ट किट, एन्टिबायोटिक फेस मास्क तथा सेनिटाइजर थिए ।
एएसपाका अध्यक्ष नकुल पशरीचाका अनुसार कोरोना कालमा मौका छोपेर नाफाखोरीहरुले उस्तैदेखिने गरी एकै खालको लेबल र प्याकेजिंगको प्रयोग गरी नक्कली औषधी बजारमा विक्री वितरण गरेका थिए ।
तर यसतर्फ भारत तथा नियमनकारी निकायले पनि ध्यान पुर्याउन सकेनन् । औषधीजस्तो संवेदनशील विषयमा लावरवाही गर्नेलाई कडा कानूनी कारबाही गर्नुपर्ने माग उसले गरेको छ ।
त्यसो त विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेकै साता औषधीसम्बन्धी अपराधविरुद्ध काम गर्ने इन्टरपोलको विश्वव्यापी इकाइ अपरेसन पान्जियाले सात दिनमा ९० ओटा देशभरीबाट १२१ जनालाई पक्राउ गरेको थियो।
विश्वमा औषधी उत्पादनमा लागनी गर्ने थोरै देशमा भारत पर्छ । त्यहाँकोे सरकारले औषधी उत्पादनको क्षेत्रमा ३५ शीर्षकमा अनुदान दिने गर्छ । विश्वमा सबैभन्दा बढी औषधी उत्पादन गर्ने तेस्रो मुलुकमा भारत रहेको छ । एजेन्सीहरु