डा.राम प्रसाद सापकोटा । बिशेषत मानिसका सबै अंगहरुको सरसफाई र संक्रमण मुक्त हुन जरुरी छ । मानिसमा ब्याक्टेरियाले आक्रमण गर्ने अंगहरुमा बढी संक्रमणको जोखिम हुने गर्दछ । मानिसका बाहिरी अंगबाट भित्री अंगको सम्बन्ध तथा विकारका बस्तुहरु फ्याक्ने अंगहरुमा संक्रमण बढी हुन्छ । बिशेषगरी दिसा, पिसाब जाने ठाउंँ र घाउबाट बढी संक्रमणको जोखिम हुन्छ । यस्ता संक्रमणमध्ये महिलाहरुमा हुने गुप्तांकको संक्रमणपनि उत्तिकै जोखिम र चुनौति छ ।
महिनावारीमा गुप्ताङ्ग खुकुलो हुने र रगत र रगतसंँगै तन्तु बाहिर निस्कने र विभिन्न हर्मोनका कारण पनि ब्याक्टेरियालाई गुप्ताङ्ग भित्र सहज छिर्न र बृद्धि हुन मदत पुग्छ । यस्तै गर्भावस्थामा पनि यौनी खुकुलो हुने र पटकपटक पिसाब लागिरहने हुंँदा संक्रमणको जोखिम उत्तिकै हुन्छ । सामान्यतया पुरुषको तुलनामा महिलाको पिसाब नलीको लम्बाई छोटो हुनेहुंँदा पनि संक्रमणको जोखिम महिलालाई बढी हुन्छ ।
गुप्ताङ्गको नियमित र राम्रो संग सरसफाई नभएमा संक्रमण पिसाबनली हुंँदै मृगौलासम्म संक्रमण भएर महिलाको ज्याननै जानसक्ने खतरा हुन पनि सक्छ । त्यस कारण महिलाहरुको गुप्ताङ्गमा संक्रमण भएमा स्वास्थ्यमा देखापर्न सक्ने खतराबारे सजग हुनुनै उत्तम उपाय हो ।
लेखक डा.राम प्रसाद सापकोटा भरतपुर अस्पताल(सरकारी) तथा पुस्पाञ्जली अस्पताल प्रा लि चितवनमा वरिष्ठ स्त्री तथा प्रसूति रोग बिशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।
