काठमाडौं । लेखक तथा वरिष्ठ मुटु रोग विशेषज्ञ डा.अवनिभूषण उपाध्यायको पुस्तक ‘मान्छेको मुटु’ सार्वजनिक गरिएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा पुस्तकका प्रकाशक इदा उपाध्याय, वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मी, वरिष्ठ फिजिसियन डा.सत्यनारायण सुवाल, वरिष्ठ मुटुरोग विशेषज्ञ डा.रत्नमणि गजुरेल, साहित्यकार राजेन्द्र थापा, लेखक तथा सम्पादक लक्ष्मण अधिकारीले संयुक्त रूपमा सो पुस्तकको लोकार्पण गर्नुभएको हो ।
पुस्तकमा मुटुरोग बारे विविध जानकारी हुनाका साथै मन र आत्माबारे चर्चा गरिएको छ, भने प्रश्नोत्तर शैलीमा लेखिएको पुस्तक आम पाठकका लागि निकै लाभदायी हुने विश्वास गरिएको छ ।
गैर आख्यान विधाको यो पुस्तक ३१० पृष्ठको लामो रहेको छ । चार दशकदेखि मुटु उपचारमा संलग्न डा.उपाध्यायको यसअघि ‘मुटुसँग सहयात्रा’नामक पुस्तक प्रकाशन भइसकेको छ । लेखक उपाध्याय अझैपनि मुटुरोगीहरुको दैनिकी स्वास्थ्य सेवा र सचेतना कार्यमा सक्रिय हुनुहुन्छ।






