तनहुँ । जिल्लाको व्यास नगरपालिका–६ स्थित सिसाघाटमा आयुर्वेद औषधालयको नवनिर्मित भवन निर्माण गरिएको छ । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीको रु एक करोड ४१ लख ३८ हजार ९८ लागतमा भवन निर्माण गरिएको हो ।
उक्त औषधालयबाट तनहुँसहित छिमेकी लमजुङ र कास्की जिल्लाका बासिन्दालेसहज रूपमा सेवा लिन थालेका छन् । उक्त भवनको केहीदिन अघि नगरप्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्नु भएको थियो ।
उद्घाटन पछि नागरिकलाई उपचार सेवा दिन थालिएको व्यास–६ का वडाध्यक्ष एवं शिशाघाट आयुर्वेद औषधालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष जीवन गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार व्यास–६ र ७ का बासिन्दासहित छिमेकी जिल्ला लमजुङको मध्यनेपाल, भोर्लेटार र कास्कीको रूपा गाउँपालिकाबाट सेवाग्राही उपचारका लागि आउने गरेका छन् ।
औषधालयमा दैनिक २० जना उपचारका लागि आउने गरेका औषधालयका इन्चार्ज सरोज मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य परीक्षण, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन, मातृशिशु सुरक्षा कार्यक्रमअन्तर्गत स्तनपायी आमाका लागि दुग्ध उत्पादक औषधि वितरण, स्नेहन स्वइदन र शिरोधरालगायत सेवा प्रदान गरिएको छ ।
उहाँले भन्नुभयो, “औषधालय सुरुका चरणमा रहेकाले पञ्चकर्म विधिबाट गरिने उपचारमध्ये अहिले पूर्वकर्म मात्रै गर्ने गरिएको छ । क्रमशः सेवा विस्तार गर्दै लैजाने योजना छ ।” रासस
