तनहुँ । जिल्लाको व्यास नगरपालिकाले तीन सय ९६ जना गर्भवतीलाई प्रोत्साहन रकम वितरण गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षमा दुई सय ३० र चालु आवमा एक सय ६६ जनालाई प्रोत्साहन रकम वितरण गरेको हो ।
गर्भवती पोषण सहयोग कार्यक्रमअन्तर्गत जनही रु पाँच हजारका दरले राहत दिने गरिएको नगरको महिला बालबालिका अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखाले जनाएको छ । उक्त कार्यक्रम सुरु भएपछि व्यास नगरभित्र बाल मृत्युदर न्यून भएको शाखाकी अधिकृत राधा आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार गर्भवती भएपछि नगरपालिकाबाट प्रदान गरिने सुविधा प्राप्त गर्न आठ पटक (३२ हप्ता) सरकारी स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गराएपछि उक्त सुविधा पाउन सकिन्छ ।
गत वर्ष र चालु आवको दोस्रो चौमासिकसम्म रु १९ लाख ८० हजार प्रोत्साहन रकम वितरण गरिसकिएको जनाउँदै उहाँले उक्त सुविधा लिन व्यास नगरपालिकामा स्थायी बसोबास र विवाह दर्ताको प्रमाणपत्र पेस गर्नुपर्ने बताउनुभयो ।
“समयसमयमा गरिने गर्भ जाँचले बाल मृत्युदर घट्नुका साथै कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।” कुनैकुनै महिलाले सात महिनामा बच्चा जन्माएमा सरकारी स्वास्थ्य संस्थाबाट प्रमाणित गरी ल्याएपछि प्रोत्साहन रकम पाउन सकिन्छ”, उहाँले भन्नुभयो, “यस्ता घटना कम हुने गरेका छन् ।”
गर्भवती पोषण सहयोग कार्यक्रम प्रभावकारी बन्दै गएकाले उक्त कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । “समयसमयमा गरिने गर्भ जाँचले आमा र बच्चा दुवैको अकालमा ज्यान जानबाट रोक्न सहयोग पुगेको छ, यस कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिनेछौँ”, उहाँले भन्नुभयो ।
नौ सय २७ लाई अपाङ्गता परिचयपत्र
महिला बालबालिका अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखाले नौ सय २७ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । गत आवमा आठ सय ९१ र चालु आवमा ३६ जनालाई परिचयपत्र प्रदान गरिएको अधिकृत आचार्यले बताउनुभयो । उहाँका अनुसार परिचयपत्र पाउनेमा पूर्णअशक्तता भएका एक सय ४७, अतिअशक्त तीन सय ९४, मध्यम दुई सय ५७ र सामान्य एक सय २९ जना रहेका छन् । रासस
