काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मदिरा नियन्त्रण तथा रोकथामका लागि सेफर इनिसिएटिभ नेपाल कार्यक्रम सुरु गरेको छ ।
मन्त्रालयले आज काठमाडौँमा एक कार्यक्रम गरी विश्व स्वास्थ्य सङ्गठन लगायतका साझेदार निकायहरूले सुरु गरेको मदिरा सेवनबाट हुने क्षति न्यूनीकरण सम्बन्धी अभियान सेफर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको हो ।
सेफर इनिसिएटिभ नेपाल कार्यक्रम मार्फत मदिराको उपलब्धता विरुद्धको प्रतिबन्ध बलियो बनाउने, मदिराको विज्ञापन तथा प्रचारप्रसारमा प्रतिबन्ध लगाउने, मदिरा सेवन गरी सवारी चलाउन नदिने एवं मदिरा सेवनबाट हुनसक्ने स्वास्थ्य समस्याको निदान र उपचारमा पहुँच सुनिश्चित गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ ।
अभियान उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ्ले मदिराबाट हुने क्षति कम गर्न स्थानीय प्रविधिबाट उत्पादन हुने मदिराजन्य बस्तुको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले ग्रामीण क्षेत्रमा मदिराको प्रयोग विरुद्ध सचेतना फैलाउन राज्यका सबै निकायहरू लाग्नुपर्ने बताउनुभयो ।