चितवन । नेपाल फर्मा एक्स्पो २०२२ भोलि (शुक्रबार) बाट भरतपुरमा हुने भएको छ । यसका लागि सम्पूर्ण तयारी पुरा भएको छ । चितवन प्रदर्शनी केन्द्रमा हुने एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने आयोजक संस्था नेपाल औषधि उत्पादक संघले आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । ।
पत्रकार सम्मेलनमा बोल्दै संघका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारीले दिनको १ बजे एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए । एक्स्पो वैशाख ९, १० र ११ गतेसम्म सञ्चालन हुनेछ ।
संघका महासचिव विप्लव अधिकारीले यस पटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अँंगाल्दै आएको ज्ञान तथा नविनतम प्रविधिको विस्तार गर्ने बताए । ‘एक्स्पोले औषधि उत्पादनको प्रविधि र यसमा अपनाईएका संवेदनशीलताको बारेमा जनमानसमा सचेतना दिने विश्वास छ । ’ उनले भने ।
एक्स्पोले नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म निर्यात गर्नका साथै दक्षता प्रदान गर्न मदत पुग्ने उनको भनाई छ ।
सो अवसरमा बोल्दै संघका निवर्तमान अध्यक्ष एवं एक्स्पो संयोजक जी नारायणबहादुर क्षेत्रीले औषधि प्राविधिक र फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रिय स्तरको नविन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पो आयोजना गरिएकोे बताए । संघले नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब (प्रयोगशाला), मेसिन, कच्चा पदार्थ, प्याकेजिङ्ग लगायतमा भएका विकासहरुको प्रत्येक दुई वर्षमा एक्स्पो गर्दै आएको छ । सन् २०२१ मा हुने पर्ने एक्स्पो भने कोभिडका कारण हुन सकेको थिएन ।
यस पटकको आठौं संस्करणको एक्स्पोमा १६० वटा स्टल रहने छन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका विभिन्न १२३ बहुराष्ट्रिय कम्पनी र
३७ स्वदेशी औषधि उद्योगहरुका स्टल एक्स्पोमा रहने क्षेत्रीले जानकारी दिए । एक्स्पोका अवसरमा विभिन्न प्राविधिक गोष्ठी हुनेछन् ।
संघले शुक्रबार बिहान ७ बजे प्रदर्शनीस्थलबाट शोभायात्राको आयोजना समेत गरेको छ । यस्तै शनिबार राष्ट्रिय योजना आयोग, औषधि उत्पादक, बिक्रेता, पत्रकारहरुबीच अन्तक्र्रिया कार्यक्रम समेत हुनेछ ।
एक्स्पोमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, नेपाल औषधि व्यवसायी संघ, नेपाल औषधि थोक व्यवसायी संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल फर्मास्युटिकल एसोसियसन र नेपाल फार्मेसी संघको आवद्धता रहेको छ । एक्स्पोका ३० हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजक रहेको छ ।
