बागमती श्रेष्ठ
पोखरा । राष्ट्रिय मुटु तथा फोक्सो समाजले नेपालमा पहिलो पटक अन्तराष्ट्रिय‘इन्टरभेन्सन मिट २०२५’होटल पोखरा ग्राण्डीमा गर्ने भएको छ । समाजले यस अगाडि तीन वटा अन्तराष्ट्रिय सम्मेलन गरिसकेको र मुटुरोग सम्बन्धी नेपालमा पहिलो पटक‘इन्टरभेन्सन मिट २०२५’ भोलि जेष्ठ २४ गते शनिवार होटल पोखरा ग्राण्डीमा हुने सोसाइटीका अध्यक्ष डा.शंकर लौडारीले जानकारी दिनुभएको हो ।
समाजका संस्थापक अध्यक्ष प्रा.डा.श्याम राज रेग्मीका अनुसार यो सम्मेलनमा मुटुरोगका क्षेत्रमा सर्जरी नगरिकन इन्टरभेन्सन उपचार पद्धति मार्फत भएका नयाँ विकासबारे छलफल हुने बताउनुभयो । त्यस्तैगरी संस्थाका पूर्व अध्यक्ष प्रा.डा.मणि प्रसाद गौतम र इलेक्ट प्रेसिडेन्ट प्रा.डा.सुधिर रेग्मीले दिनुभएको जानकारी अनुसार सम्मेलनमा नेपालसहित छिमेकी राष्ट्रका सहभागी चिकित्सकहरुबाट करिब ४२ वटा बैज्ञानिक सोधपत्र प्रस्तुत गरिनेछ ।
त्यस्तै डा.लौडारीका अनुसार २४ गते हुने सम्मेलनमा ५ वटा सेसनमा स्वदेशी तथा विदेशी विशेषज्ञहरुले मुटुरोगको इन्टरभेन्सन उपचार पद्धतिबारे अनुसन्धानमूलक शोधपत्रमाथि आफ्नो कार्यानुभव व्यक्त गर्नुहुने छ,जसले मुटुरोगको क्षेत्रमा भएका नयाँ विकास,चुनौती, पेशागतअनुभव र सम्भावनाको खोजी र प्रयोगका लागि कोशेढुंगा साबित हुने उहाँको भनाइ छ।
सम्मेलनमा विशेषगरि मुटु रोग विशेषज्ञहरुसहित इन्टरनल मेडिसिन,मृगौला रोग,फोक्सो रोग,न्यूरो मेडिसिन,रेडियोलोजी विधा र क्यान्सर रोगलगायतका विशेषज्ञहरुको वैज्ञानिक शोधपत्रमाथि विशेष छलफल हुने सम्मेलन संयोजक तथा युवा मुटुरोग विशेषज्ञ प्रा.डा. नवराज पौडेलले बताउनुभयो।
भोलिबाट पोखरामा सुरु हुने राष्ट्रिय मुटु तथा फोक्सो समाजको अन्तराष्ट्रिय‘इन्टरभेन्सन मिट २०२५’को तयारी अन्तिम चरणमा पुगेको संस्थाका सेक्रेटरी रामचन्द्र खत्रीले जानकारी दिनुभयो ।


