काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी प्रभावकारी ढङ्गले काम गर्न आवश्यक रहेको बताउनुभएको छ।
काठमाडौँको कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्युरो कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागुऔषधको उत्पादन,भण्डार र प्रयोग ठूलो चुनौतीका रुपमा देखिएको बताउनुभयो।
“लागुऔषध प्रयोगले सडक दुर्घटना,आत्महत्या र साइबर अपराध बढाउँछ। हामीले एक वर्षमा लागुऔषधविरुद्धको महाअभियान लागू गरेका थियौँ। त्यो अभियान सार्थक भएको छ”,उहाँले भन्नुभयो,“यो अभियानमा आमनागरिकसहित सबैको सहकार्य आवश्यक छ।”
विगत वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागुऔषध नियन्त्रणमा प्रगति भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले भन्नुभयो,“आगामी दिनमा थप प्रभावकारी ढङ्गले यो चुनौतीको सामना गर्ने गरी अगाडि बढ्नुपर्छ। स्रोतसाधनको कमी भएपनि धेरै काम गर्न सक्यौँ। त्यो यो एक वर्षमा देखिएको छ”,उहाँले भन्नुभयो। लागुऔषधको बिगबिगी देखिएको भन्दै यसविरुद्धको अभियानमा सरकार सशक्त भएर लाग्ने बताउनुभयो।
“युवामा यसको लत देखिएको छ। देशको भविष्य जोडिएको युवाशक्ति लागुऔषधमा फसेको छ”,गृहमन्त्री लेखकले भन्नुभयो,“लागुऔषधविरुद्धको महाअभियानले परिणाम ल्याएको छ। लागुऔषध अपराधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन। लागुऔषधविरुद्ध अभियान चलाउन आवश्यक छ। यो प्रहरीको मात्र होइन। सबै नागरिकको जिम्मेवारी हो।”
गृहमन्त्री लेखकले लागुऔषध ब्युरोलाई विभागकै रुपमा विकास गरिने बताउनुभयो। “ब्युरोलाई विभागका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएको छु। मन्त्रालयबाट हुने सहयोग हुन्छ”,उहाँले भन्नुभयो। लागुऔषध ब्युरोलाई विभागका रुपमा विकास गर्न तयारी अगाडि बढाउन प्रहरी महानिरीक्षक दिपक थापासहित प्रहरी प्रधान कार्यालयलाई उहाँले निर्देशन दिनुभयो।
प्रहरी महानिरीक्षक थापाले लागुऔषध ब्युरोलाई विभागका रुपमा विकास गर्ने गृहमन्त्री लेखकको प्रस्ताव सराहनीय रहेको बताउनुभयो। उहाँले लामो समयदेखि नेपाल प्रहरी लागुऔषध नियन्त्रणमा मुलुकभर सक्रिय रहेको जानकारी दिनुभयो।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङ, लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालालगायतको समेत सो अवसरमा उपस्थिति रहेको थियो।रासस
