सिन्धुली । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा र गोलञ्जोर गाउँपालिका,सिन्धुलीबीच सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौता मुख्यगरी स्वास्थ्य विज्ञान शिक्षालाई प्रयोगात्मक बनाउने र गाउँस्तरसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने अभिप्रायका साथ यो दीर्घकालीन सहकार्य सुरु भएको हो।
गोलञ्जोर गाउँपालिकाको गोलन्जर आधारभूत अस्पताल, ग्वाल्टरमा आयोजित समारोहमा प्रतिष्ठानका तर्फबाट उपकुलपति प्रा.डा. प्रदीप ज्ञवाली र गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष श्री शंकरराज बरालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौता समारोहमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार भीमसागर गुरागाइँले यस सम्झौताले ग्रामीण स्वास्थ्य सेवा, शैक्षिक तालिम, अनुसन्धान, प्राविधिक सहयोग र नीति निर्माणसम्बन्धी पक्षहरू समेटेको र स्थानीय सरकार र प्रादेशिक शैक्षिक संस्थाबीचको यो साझेदारीले नेपालका अन्य स्थानीय तहका लागि समेत सकारात्मक अभ्यासको बाटो खोल्ने विश्वास व्यक्त गर्नुभयो।
सम्झौताअनुसार अब मदन भण्डारी प्रतिष्ठानका स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूले गोलञ्जोर आधारभूत अस्पतालमा प्रत्यक्ष अभ्यास गर्ने अवसर पाउनेछन्। यसबाट एकातिर विद्यार्थीहरूको ज्ञानलाई व्यवहारमा उतार्ने वातावरण बन्नेछ, नीभने अर्कातिर गाउँपालिकाका सर्वसाधारणले विशेषज्ञ चिकित्सकको सेवा गाउँमै प्राप्त गर्न सक्नेछन्। विद्यार्थी र प्राध्यापकहरूको टोलीले अस्पतालमा मात्र नभई गाउँपालिकाका सातै वडामा स्वास्थ्य शिविर, स्वास्थ्य शिक्षा तथा स्वास्थ्य सेवा सञ्चालन गर्नेछ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष श्री बरालले यो सम्झौतालाई ऐतिहासिक उपलब्धि भन्दै यसले गाउँपालिकाको स्वास्थ्य सेवामा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। वहाँले भन्नुभयो, “हामीले अब सेवा मात्र होइन, स्वास्थ्य प्रणालीलाई दीर्घकालीन रूपमा बलियो बनाउने अभ्यास सुरु गरेका छौँ। यो सहकार्य त्यसतर्फको पहिलो र दूरगामी कदम हो।”
त्यस्तै, प्रतिष्ठानका तर्फबाट सहभागी उपकुलपति प्रा.डा. प्रदीप ज्ञवालीले भन्नुभयो, “स्वास्थ्य शिक्षालाई चार पर्खालभित्र सीमित नराखी समुदायसम्म पुर्याउने हाम्रो अभियानलाई यो साझेदारीले मूर्तरूप दिनेछ। हाम्रो उद्देश्य समुदायसँग जोडिएर शिक्षण, सेवा र अनुसन्धान एकैसाथ अघि बढाउनु हो।”
यो सहकार्य पाँच वर्षका लागि रहनेछ र आवश्यकताअनुसार पुनः नवीकरण गर्न सकिने व्यवस्था रहेको प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञवालीले जानकारी दिनु भयो।
