कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले युवालाई लागुऔषधबाट बचाउनका लागि सरकारले सशक्तीकरणका कार्यक्रमहरू ल्याएको बताउनुभएको छ।
अन्तराष्ट्रिय युवा दिवसका अवसरमा प्रदेश युवा परिषद्ले आज कैलालीको बर्दगोरियामा आयोजना गरेको कार्यक्रममा उहाँले युवा लागुपदार्थ दुव्र्यसनीमा फस्दै गएकाले यसको नियन्त्रण जरूरी रहेको बताउनुभयो। “पछिल्लो समय कुलत भाइरस जसरी फैलिरहेको छ। यसबाट बचाउनका लागि प्रत्येक जिल्लामा युवा सशक्तीकरणका कार्यक्रम अघि बढाएका छौँ”,मुख्यमन्त्री शाहले भन्नुभयो,“युवापुस्तालाई सही मार्गमा ल्याउनका लागि युवाहरूको पहलमार्फत नै विभिन्न कार्यक्रम ल्याएका छौँ। अब तिनको सही कार्यान्वयन गरिनुपर्छ।”
नेपाली जनताको हकअधिकार स्थापित गर्ने आन्दोलनको नेतृत्व युवा वर्गले नै गरेको चर्चा गर्दै उहाँले युवाहरू रूपान्तरणको संवाहक भएको बताउनुभयो।
अहिलेको युवावर्गसँग जोडिएर सरकार अगाडि बढ्न चाहेको मुख्यमन्त्री शाहको भनाइ थियो। उहाँले युवा शक्तिलाई सुदूरपश्चिमको विकास र समृद्धिसँग जोड्ने कुरामा सबै मिलेर अगाडि बढ्न आह्वान गर्नुभयो।
