सुर्खेत । लेखक तथा सामाजिक अभियन्ता डा.नवराज केसीको दोस्रो कृति‘स्वस्पर्श’सार्वजनिक गरिएको छ। फाइनप्रिन्ट प्रकाशनले बजारमा ल्याएको उक्त पुस्तकको आज सुर्खेतमा विशेष समारोहबीच विमोचन गरिएको हो।
लेखक डा.केसीका अनुसार स्वस्पर्शमा जीवनका उतार–चढाव,आत्मसङ्घर्ष र सुख–खुसीको खोजीसँग सम्बन्धित विविध कथा समेटिएका छन्। पुस्तकले आशा,प्रेरणा र सकारात्मक सोचसहित जीवनलाई अगाडि बढाउन मार्गदर्शन गर्ने सन्देश बोकेको छ।
उहाँले यो कृति प्रत्येक व्यक्तिको आत्मअन्वेषण र आत्मसाक्षात्कारतर्फको यात्रामा समर्पित रहेको बताउनुभयो।“सङ्घर्षबीच जीवनलाई कसरी सबल र प्रेरणादायी बनाउन सकिन्छ भन्ने यथार्थपरक कथा,जीवनअनुभव र बुद्ध–विज्ञानसँग सम्बन्धित विचारहरू पुस्तकमा समावेश छन्”,लेखकले भन्नुभयो।
कार्यक्रममा साहित्यकार सुविन भट्टराईले‘स्वस्पर्श’स्कूले उमेरदेखि वृद्धावस्थासम्मका सबै पाठकको मन छुने कृति भएको टिप्पणी गर्नुभयो। यसअघि डा. केसीले पहिलो कृति‘शून्यको मूल्य’पाठकमाझ ल्याउनुभएको थियो।
