मकवानपुर । अघिल्लो सरकारले नियुक्त गरेको व्यक्ति हटाउने सिलसिला अन्तरगत प्रा।डा जोशी विज्ञान प्रतिष्ठानका उपकुलपतिबाट निलम्बित
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा। विश्वराज जोशी निलम्बित हुनुभएको छ ।
अघिल्लो सरकारले नियुक्त गरेको व्यक्ति हटाउने सिलसिला अन्तरगत प्रा।डा जोशीलाई बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेले निलम्बन गर्नुभएको हो ।
उहाँ माथि छानबिन गर्न समिति गठन गरिएसँगै जोशी निलम्बित हुनुभएको बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यमलाल भुसालले जानकारी दिनुभएको छ ।
जोशीलाई केही समय अघिबाटै पदबाट हट्न दबाब आइरहेको थियो । मुख्यमन्त्री पाण्डेले छानबिन समिति गठन गरेसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा ९३० बमोजिम उपकुलपति स्वतः निलम्बित हुनुभएको सचिव भुसालले बताउनुभयो ।
सचिव भुसालले मङ्गलवार उपकुलपति प्रा।डा। जोशीलाई सम्बोधन गरेर निलम्बन गरिएको पत्र पठाउनुभएको छ ।
उपकुलपति प्रा।डा। जोशीले पदीय जिम्मेवारी पूरा नगरेको लगायतका आधार उल्लेख गरी प्रतिष्ठानको सभाका एक चौथाइ सदस्यले लिखित निवेदन दिएकोले प्रतिष्ठानका कुलपति एवम् मुख्यमन्त्री पाण्डेले सो सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको बताइएको छ ।
प्रा।डा।जोशीले भने निलम्बनको खबर पत्रकारमार्फत मात्रै जानकारी भएको र निलम्बनको पत्र बुझेपछि के गर्ने भन्ने योजना बनाउने बताउनुभयो ।
गत फागुन अन्तिम साता मुख्यमन्त्री पाण्डेले पत्र नै काटेर आफूलाई पदबाट हट्न आग्रह गरेको उल्लेख गर्नुहुँदै प्रा।डा। जोशीले भन्नुभयो, “एउटा योजनासहित काम गर्दै गर्दा बीचमै छाड्नु उचित नलागेर काम गरिरहेको थिएँ । एक्कासि निलम्बनको कुरा सुनेँ । निलम्बनको पत्र हात परेपछि के गर्ने भन्ने निर्णय लिनेछु ।”
प्रा।डा। जोशीलाई बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले २०७७ साल साउन १६ गते ४ बर्से कार्यकालका लागि नियुक्त गर्नुभएको थियो ।