काठमाडौँ । ‘हाम्रो पुस्तकालय,हाम्रो भविष्य’ भन्ने नारासहित यस वर्ष १८औँ पुस्तकालय दिवस देशभरि विविध कार्यक्रम गरी मनाइँदैछ। पुस्तकालय दिवस मूल समारोह समितिद्वारा यही भदौ १५ गते मुख्य कार्यक्रम आयोजना गरिने जानकारी दिइएको हो।
पुस्तकालय दिवस मनाउने तयारीअनुसार सामाजिक तथा रचनात्मक क्रियाकलाप उपसमितिद्वारा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। काठमाडौँको केशरमहलस्थित केशरपुस्तकालयमा आयोजित कार्यक्रममा पुस्तकालयकर्मी,पाठक तथा कर्मचारीसहित २१ जना स्वयंसेवकले रक्तदान गर्नुभयो।
पुस्तकालय दिवसलाई भव्य र सभ्य रूपमा मनाउन शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा मूल समारोह समिति तथा मातहत विभिन्न उपसमिति गठन गरिएको छ।
यसअघि सातवटै प्रदेशमा रहेका सामुदायिक पुस्तकालयले आफ्ना पुस्तकालयमा विविध कार्यक्रमको थालनी गरिसकेकाले यही भदौ १५ गतेसम्म आफ्ना पुस्तकालयमा विभिन्न गतिविधि सञ्चालन गर्नेछन्।
ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आइतबार‘हाम्रो पुस्तकालय,हाम्रो भविष्य’भन्ने नारासहित चित्रकला कार्यशाला आयोजना हुनेछ। सङ्घीय संसद् सचिवालयको पुस्तकालयको आयोजनामा यही भदौ १२ गते सांसदसँग तथा १३ गते त्रिवि केन्द्रीय पुस्तकालयको आयोजनामा विज्ञसँग अन्तरक्रिया हुने प्रचारप्रसार उपसमिति संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो।
त्यस्तै,भदौ १४ गते डिल्लीरमण पुस्तकालयमा पुस्तक दिवसको विशेष कार्यक्रम हुनेछ। यसैबीचमा धर्मदेवी सङ्खुवासभा र लेटाङ मोरङमा सामुदायिक पुस्तकालय उद्घाटन तथा कपिलवस्तुमा ४७ वटा सामुदायिक विद्यालयमा शैक्षिक पुस्तकालयको सुरुवात हुने पनि संयोजक पाण्डेयले जानकारी दिनुभयो।
