काठमाडौँ । पर्साको वीरगञ्जका हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षणका लागि टोली परिचालन गरिएको छ।
खानेपानी तथा ढल व्यवस्थापन विभागबाट आवश्यक सामग्रीसहित मोबाइल भ्यान टोली खटाइएको विभागका महानिर्देशक ई.रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँले भन्नुभयो,“खानेपनी मन्त्रीज्यूको निर्देशनपश्चात् विभागबाट आवश्यक सामग्रीसहित प्राविधिक टोली प्रभावित क्षेत्रमा पठाएका छौँ। टोलीले पानी परीक्षण र जनचेतनामूलक कार्य सुरु गरिसकेको छ।”वीरगञ्जमा शुक्रबार तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो।
यसैगरी खानेपानीमन्त्री प्रदीप यादव पनि हैजा प्रभावित क्षेत्रमा पुग्नु भई त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ। त्यस क्रममा उहाँले हैजा नियन्त्रणका लागि सरकार संवेदनशील रहेको बताउनुभएको छ। वीरगञ्जका विभिन्न अस्पतालमा पुगेपछि मन्त्री यादवले भन्नुभयो, “हामी हैजा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय,स्थानीय तह तथा अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरेर काम गरिरहेका छौँ। सरकार यस विषयमा निकै गम्भीर छ।”
मन्त्री यादवले हैजा प्रभावित क्षेत्रमा शुद्ध खानेपानीको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विशेष पहल गरिरहेको जानकारी दिनुभयो। उहाँले वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन तथा निरीक्षणसँगै त्यहाँको नारायणी अस्पताल,तराई हस्पिटल,वीरगञ्ज हेल्थ केयरलगायत अस्पतालमा उपचाररत सङ्क्रमित बिरामीहरूको अवस्थाबारे जानकारी लिनुभएको थियो।
