काठमाडौँ । रौतहटको रूबीकुमारी साहको हत्या आरोपी लक्ष्मण पासवानको आज साँझ उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको छ।
आत्मदाहको प्रयास गरेका उनलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो। उनको उपचारका क्रममा आज साँझ ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिनुभयो।
आज बिहान आत्मदाहको प्रयास गरेको अवस्थामा उनलाई फेला पारिएको थियो। केही दिन अघि रौतहटमा सुटकेशभित्र साहको शव भेटिएको थियो। आत्मदाह गर्नु अघि उनले उक्त घटनामा आफू संलग्न रहेको स्वीकार्दै भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए।
सो भिडियोका अनुसार साह पासवानका पूर्व प्रेमिका हुन्। उनीहरुबीच प्रेम भएर पनि परिवारले छुटाएकाले आफू तनावमा परेको उनले बताएका छन्। गत शनिबार रौतहटको गौर नगरपालिका–९ गौर–सिर्सिया सडक खण्डअन्तर्गत मुडवलबा गेट नजिक सडक किनारमा सुटकेशभित्र साहको शव फेला परेको थियो।रासस
