सङ्खुवासभा । सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिकाले विभिन्न सहरमा घुम्ती शिविर सञ्चालन गरेर एक सय ५० भन्दा बढी सर्वसाधारणलाई सेवाप्रवाह गरेको छ।
सिलिचोङ गाउँपालिकाले काठमाडौँ,इटहरी र सदरमुकाम खाँदबारीमा सञ्चालन गरेको घुम्ती शिविर एक सय बढीले सेवा लिएका छन्। सिलिचोङ सडक सञ्जालले नछोएको विकट र दुर्गम क्षेत्रमा अवस्थित छ। सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण,जन्मदर्ता,नाता प्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर आयोजना गरिएको हो। ज्येष्ठ नागरिक,अशक्त र असहायलाई लक्षित गरेर उनीहरू बसेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण,जन्मदर्ता,नाता प्रमाणित र नागरिकताको सिफारिससम्बन्धी सेवा दिएको सिलिचोङ गाउँपालिका प्रशासकीय अधिकृत भद्र कुलुङले जानकारी दिनुभयो।
घुम्ती शिविरबाट एक सय ५० जनाले सेवा लिएका छन्। सिलिचोङले काठमाडौँमा भदौ ६ र ७ गते,इटहरीमा भदौ ९ र १० गते तथा खाँदबारीमा आज घुम्ती शिविर सञ्चालन गरेको हो। काठमाडौँ र तराईका विभिन्न जिल्लामा बसोबास गर्ने ज्येष्ठ नागरिक,अशक्त र असहायलाई लक्षित गरी इटहरीमा शिविर केन्द्र तोकिएको थियो। विभिन्न कारणले आफ्नो पालिका आइपुग्न नसक्नेलाई सेवा पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।
