स्याङ्जा । यहाँको भिरकोट नगरपालिकाले फोहरमैला व्यवस्थापन र उद्यानबाट आम्दानी गर्दै आएको छ । भिरकोट-४ सिसौँघारीस्थित आँधीखोलाको किनारमा सरसफाइ केन्द्र निर्माण गरेर आम्दानीसँग जोडिएको हो ।
नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि सञ्चालनमा ल्याएको सरसफाइ केन्द्रमा सङ्कलन भएका कुहिने, नकुहिने तथा सिसाजन्य फोहरमैलाको व्यवस्थापन गरी बर्सेनी आम्दानी गर्दै आएको छ । सरसफाइ केन्द्र नजिकै भिरकोट उद्यान निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको गन्तव्यका रूपमा विकास गरी आम्दानी गर्दै आएको हो ।
नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाइ केन्द्र र उद्यानबाट हालसम्म रु ६१ लाख आम्दानी भएको केन्द्र तथा उद्यान व्यवस्थापक कृष्णप्रसाद अर्यालले बताउनुभयो । “सुरुका वर्षको तुलनामा पछिल्ला वर्षमा फोहरमैला बिक्री बढ्नुका साथै उद्यानमा आगन्तुकको उपस्थिति बाक्लो हुँदै गएको छ । उद्यानमा प्रवेश शुल्कबापत सङ्कलन हुने रकम पनि बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “फोहरमैलाको परिमाण बढ्नुका साथै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुँदै गएकाले आम्दानी पनि वृद्धि हुँदै गएको हो ।”
