तनहुँ । जिल्लाको व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि ५२ जना गर्भवती महिलालाई पोषण भत्ता प्रदान गरेको छ।
चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म जनही रु पाँच हजारका दरले रु दुई लाख ६० हजार रकम प्रदान गरेको हो। कार्यालयले अघिल्लो आवमा २४३ जना गर्भवतीलाई रु १२ लाख २५ हजार भत्ता वितरण गरेको थियो। हालसम्म २९५ जना गर्भवतीका लागि रु १४ लाख ८५ हजार पोषण भत्तामा खर्च भएको महिला विकास निरीक्षक जानुका सुर्खालीले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “गर्भवती पोषण कार्यक्रम (महिलासँग उपप्रमुख) अन्तर्गत उनीहरूलाई रकम प्रदान गर्ने गरिएको छ । गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी कुपोषण हुनबाट बचाउने, नियमित गर्भ जाँच गराउने र असुरक्षित सुत्केरीलाई निरुत्साहित गर्ने उद्देश्यले पोषण भत्ताको व्यवस्था गरिएको हो।”
नगरपालिका क्षेत्रका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक (४, ६ र ८ महिना) स्वास्थ्य गरेको गर्भवतीलाई आठ महिनापछि उक्त रकम प्रदान गर्ने गरिएको महिला विकास निरीक्षक सुर्खालीले बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि गर्भवती महिलालाई नगद नै हातमा दिइन्थ्यो, तर अहिले चेकको फोटो कपी पेस गर्नुपर्ने प्रावधान रहेको छ।”
त्यसैगरी चालु आवमा डिजिटल प्रविधिबाट अपाङ्गता भएकालाई परिचयपत्र वितरण कार्य थालिएको छ । यस आवमा ‘क’ वर्गको दुई, ‘ख’ वर्गको २९, ‘ग’ वर्गको १८ र ‘घ’ वर्गको सात जनालाई परिचयपत्र वितरण गरिएको सहायक महिला विकास निरीक्षक शर्मिला जम्कट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष १९० जनालाई यस किसिमको परिचयपत्र प्रदान गरिएको थियो।रासस
