चितवन। नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको राष्ट्रिय सम्मेलन शनिबार चितवनमा हुने भएको छ । सम्मेलनमा चिकित्सकका अनुभव तथा ज्ञान आदानप्रदानसँगै नयाँ प्रविधिको बारेमा छलफल हुने बताईएको छ ।
समाजका अध्यक्ष प्राडा मणिप्रसाद गौतमले नेपालमा एक सय हाराहारी विज्ञ चिकित्सक रहेको बताउंँदै अधिकतमको उपस्थितिमा सम्मेलन सम्पन्न हुने जानकारी दिनुभयो । सम्मेलनमा २६ वैज्ञानिक कार्यपत्र प्रस्तुतीकरण र छलफल हुनेछ । ‘कार्यक्रममा मुटु शल्य चिकित्सक, फोक्सो रोग विशेषज्ञ, भास्कुलर सर्जन र फिजिसियनसमेत सहभागी हुनुहुनेछ ।’उहांँले भन्नुभयो
नेपालमा विशेषज्ञ चिकित्सक संख्यामा बृद्धि हुंँदै गएको बताउँदै उहाँले नयाँ प्रविधिको बारेमा खोज अनुसन्धान उपलब्धिलाई आदानप्रदान गर्न सम्मेलन फलदायी हुने बताउनुभयो ।
समाजका महासचिव डा शंकर लौडारीले पहिलो पटक गर्न लागिएको सम्मेलनले मुटु रोगको उपचारमा प्रविधि भित्र्याउँदै नयाँ आयाम दिने बताउनुभयो । उहाँले भन्नुभयो ,’अब नेपाली मुटु र फोक्सो उपचारका लागि विदेश जानु नपर्ने गरी विशेषज्ञ र प्रविधि हामीसँग छ । विदेशको नवीनतम प्रविधि र अनुभव पनि साटासाट हुने विश्वास छ ।’
