सिरहा । यहाँको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोहर्वाबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।
लागुऔषध बिक्रीवितरण भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले मङ्गलबार साँझ गोलबजार–१० महाजन टोलका करिब २० वर्षीय रूपेश सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार सिंहको साथबाट सानो कालो प्लास्टिकको पोकामा लुकाएर राखिएको दुई ग्राम १३० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको हो। सिंहलाई हाल गोलबजारस्थित प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो। यसअघि गत आइतबार राति प्रहरीले लहान र कर्जन्हाबाट पनि खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको थियो।रासस
