दक्षिणी ब्राजिलकका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीका कारण कम्तीमा पाँच जनाको ज्यान जानुका साथै १३० जना घाइते भएको अधिकारीहरूले शनिवार बताएका छन्।
आँधीको कारण पाराना राज्यको रियो बोनिटो डो इगुआकु नगरपालिकाको कार पल्टिएको तथा घरहरू क्षतिग्रस्त भएको स्थानीय मौसम सेवाले जनाएको छ। आँधीका कारण पराना राज्यको विभिन्न स्थान पभावित भएको उल्लेख गर्दै सिभिल डिफेन्सले विज्ञप्ति जारी गरेको एएफपीले जनाएको छ।
आँधीका कारण ३० जना गम्भीर घाइते भएको र करिब सय जना सामान्य घाइते भएको स्थानीय उद्धार एजेन्सीले जनाएको छ। पारानाको वातावरणीय प्रविधि र अनुगमन प्रणाली अनुसार रियो बोनिटो डो इगुआकुमा हावा १८०–२५० किलोमिटर प्रति घण्टाको गतिमा आएको थियो। आँधीका कारण रूखहरू ढल्नुका काथै घरहरूमा क्षति भएको“एजेन्सीले बताएको छ।
पारानाका गभर्नर रतिन्हो जुनियरले सामाजिक सञ्जाल एक्समा“सुरक्षाका लागि सेना परिचालन गरी गम्भीर आँधीबेहरीबाट प्रभावित सहरको निगरानी गरिरहेको बताउनु भएको छ। मौसम अधिकारीहरूका अनुसार परानाका साथै दक्षिणी राज्यहरू सान्ता क्याटरिना र रियो ग्रान्डे डो सुलका लागि थप खतरनाक आँधीबेहरीको चेतावनी जारी गरिएको छ।रासस
