ताप्लेजुङ । जिल्लाको फुङ्लिङ नगरपालिका-९ हाङदेवामा लडेर एक बालिकाको निधन भएको छ। फुङ्लिङ-१० फुरुम्बुका वीरबहादुर नुगोका सात वर्षीय छोरी अर्पणा नुगो लिम्बूको लडेर निधन भएको हो।
फुङलिङ-९ हाङदेवामा बस्दै आएकी बालिकाको शुक्रबार साँझ लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक रोहित शर्मा बढईले जानकारी दिनुभयो। उहाँका अनुसार निर्माणाधीन मादेन वंशको माङ्हिम मन्दिरबाट लडेर बालिकाको मृत्यु भएको हो।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरीको टोली परिचालन गरिएको थियो। शव कानुनी प्रक्रिया पूरा जिल्ला अस्पतालमा ल्याइएको बताउँदै बढईले शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको जानकारी दिनुभयो।।रासस
