म्यानमामा अस्पतालमाथि हवाई आक्रमण, संयुक्त राष्ट्रद्वारा स्वतन्त्र अनुसन्धानको माग
शनिबार, मङि्सर २७, २०८२
मा प्रकाशित
म्यानमाको सैन्य ‘जुन्ता’ले पश्चिमी राखाइन राज्यको म्राउक–उस्थित सरकारी अस्पतालमा गरिएको हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु नभएको दाबी गरेको छ ।
बुधबार राति भएको उक्त आक्रमणमा ३० भन्दा बढी मानिसको ज्यान गएको सहायता संस्थाहरूले बताएका छन् । तर सरकारी सञ्चारमाध्यम ग्लोबल न्यु लाइट अफ म्यानमार मा प्रकाशित वक्तव्यमा जुन्ताले मृतक र घाइतेहरू ‘आतङ्ककारी र उनीहरूका समर्थक’ भएको दाबी गरेको छ ।
जुन्ताका अनुसार अस्पताल प्रयोग भइरहेको भवन अराकान आर्मी (एए) र पिपुल्स डिफेन्स फोर्स (पीडीएफ) ले आधारस्थलका रूपमा प्रयोग गरिरहेका थिए र त्यसविरुद्ध डिसेम्बर १० मा ‘आतङ्कवादविरोधी कारबाही’ सञ्चालन गरिएको हो । संयुक्त राष्ट्रसङ्घले भने अस्पतालमा गरिएको आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन हुन सक्ने भन्दै घटनाको स्वतन्त्र अनुसन्धानको माग गरेको छ।विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले स्वास्थ्यकर्मी र बिरामीको मृत्यु भएको तथा शल्यकक्षसहित अस्पतालका मुख्य संरचनाहरू पूर्ण रूपमा ध्वस्त भएको बताएका छन् ।रासस