काठमाडौँ । खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मङ्सिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ६३ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति छ दशमलव ०५ प्रतिशत रहेको थियो । गत मङ्सिर महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति दुई दशमलव ०५ प्रतिशतले ऋणात्मक रहेको छभने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत रहेको छ । पछिल्लो पाँच महिनाको औसत मुदास्फीति एक दशमलव ५५ प्रतिशत रहेको पनि केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति चार दशमलव ८९ प्रतिशत रहेको थियो ।
मङ्सिरमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच दशमलव ५२, गैरमदिराजन्य पेय पदार्थको तीन दशमल्व ५६ र दुग्ध पदार्थ तथा अण्डाको दुई दशमलव ४४ प्रतिशतले बढेको छ ।
