चितवन । निपाह भाइरस फ्रुट व्याट नामक चमेरोमा हुने भाइरस हो । यो भाइरस गाइँभैसी, सुँगुर हुँदै मानिसमा सर्छ । जनावरबाट जनावरमा, जनावरबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने प्रक्रिया हुन्छ । चमेरोले संक्रमण गरेको फलफूल खाएमा, चमेरो सुंगुर तथा गाईको सम्पर्कमा पुगेमा पनि यो भाइरसको संक्रमण जनावरदेखि जनावरमा हुन्छ । संक्रमित व्यक्तिको रगत, दिसा र पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा मानिसमा सर्छ । संक्रमित सुँगुर तथा मानिसको नजिकको सम्पर्कमा पुगेमा पनि यो भाइरस सर्ने चिकित्सक बताउँछन ।
हेन्ड्रा भाइरसजस्तै निपाह पनि हेनिपाभाइरस भनिने भाइरसको श्रेणीमा पर्छ । यो जुनोटिक हो, जसको अर्थ यो जनावरबाट मानिसमा फैलिन सक्छ । एसियामा समय–समयमा यस्ता प्रकोप फैलँदै आएका छन् । पहिलो प्रकोप सन् १९९८ मा मलेसियामा रिपोर्ट गरिएको थियो । यो भाइरस सर्ने तीन प्रमुख तरिका छन् । पहिलो– चमेरोको सम्पर्कबाट हो । विशेषगरी, संक्रमित चमेरोको र्याल, पिसाब वा दिसाको सम्पर्कबाट रोग सर्छ । सुँगुरजस्ता अन्य संक्रमित जनावरसँगको सम्पर्कबाट पनि संक्रमण हुन सक्छ ।
यो सर्ने दोस्रो तरिका दूषित खाना, विशेषगरी खजुरका उत्पादनबाट हो । यसको अर्थ संक्रमित चमेरोको शरीरबाट उत्पन्न तरल पदार्थले दूषित खजुरको रस सेवन गर्दा जोखिम बढ्न सक्छ । तेस्रो भनेको मानिसबाट मानिसमा सर्ने हो । बिरामी व्यक्तिको हेरचाह गर्ने तथा नजिकको सम्पर्कमा रहने मानिसमा निपाह भाइरस सर्ने रिपोर्ट गरिएको छ । घरपरिवार वा अस्पतालमा भाइरसबाट दूषित शारीरिक स्रावबाट अर्को स्वस्थ व्यक्ति संक्रमित हुन सक्ने सम्भावना बढी हुन्छ ।
लक्षण
निपाह भाइरसको संक्रमण चाँडै सर्छ । संक्रमणदेखि लक्षण देखिने समय सामान्यतया चार दिनदेखि तीन सातासम्म हुन्छ । यो एक भयानक रोग हो । गम्भीर निपाह भाइरस संक्रमण भएमा लगभग आधा मानिसको यसबाट मृत्यु हुन्छ । लक्षणहरू फरक–फरक हुन सक्छन् । सबैभन्दा डरलाग्दो समस्या त यसको अर्को साइड इफेक्ट पनि हुन सक्छ । यसले निमोनिया निम्त्याउन सक्छ, जसरी कोभिडले यस्तो समस्या निम्त्याउन सक्छ । तर, हामीले सबैभन्दा बढी चिन्ता गर्ने समस्या भनेको स्नायुसम्बन्धी लक्षण हुन् । निपाहले इन्सेफलाइटिसजस्तो घातक समस्या निम्त्याउन सक्छ, जुन मस्तिष्कको संक्रमण हो । मस्तिष्कमा यी प्रभावले गर्दा मृत्युदर निकै उच्च छ । सामान्यतया निपाह भाइरस देखिँदा निम्नबमोजिमका लक्षण देखिन्छन् ।
ज्वरो आउनु, सास फेर्न गाह्रो हुनु, बारम्बार बेहोस हुनु, गम्भीर टाउको दुख्नु, हातखुट्टा चलाउन नसक्नु, झट्का लागेकोजस्तो महसुस हुनु, व्यक्तित्वमा परिवर्तन हुनुजस्तै अचानक अनौठो व्यवहार गर्नु वा मनोविकृति देखिनु आदि । असामान्य घटनाका रूपमा निपाह संक्रमणपछि स्वास्थ्यलाभ गरेका केही बिरामीलाई धेरै वर्षपछि (एक दशकभन्दा बढी समयपछि) पनि पुन: इन्सेफलाइटिस हुन सक्छ ।
उपचार वा खोप
अहिलेसम्म यसको खोप छैन, तर अस्ट्रेलियामा एम १०२.४ (निपाहलाई निष्क्रिय पार्ने एन्टीबडी) नामक उपचारको विकास भइरहेको छ । सन् २०२० मा यस उपचारको पहिलो चरणको परीक्षण भएको थियो, जसले अनुसन्धानकर्ताले यसलाई स्वस्थ मानिसमा यो कसरी पुग्छ र कुनै साइड इफेक्ट छन् कि छैनन् भनेर हेर्न सहयोग गरेको थियो । परीक्षणले पत्ता लगायो कि उपचारको एक डोजलाई बिरामीले राम्रोसँग सहन सकेका थिए । त्यसैले निपाह भाइरसबाट संक्रमित मानिसलाई सहयोग गर्न वास्तवमा उपचारको उपलब्धता हुन अझै बाँकी छ, तर आशा जीवितै छ । निपाह भाइरसका लागि हाल कुनै खोप छैन ।
कसरी बच्ने ?
– फलफूल राम्रोसंग पखालेर खाने ।
– तरकारी सकेसम्म पकाएर खाने ।
– गाइवस्तुको गोठ र फार्म सफा राख्ने ।
– मासु काट्दा या पकाउँदा मास्कको प्रयोग गर्ने ।
– सकेसम्म पानी उमालेर पिउने ।
– बेलाबेलामा सावुनपानीले हात धुने ।
– भीडभाडमा जाँदा मास्क लगाउने ।
