चितवन । वीरगञ्जस्थित नारायणी अस्पताल (सरकारी) मा कार्यरत युरोलोजी विभाग प्रमुख वरिष्ठ चिकित्सक डा. चितरञ्जन शाहले पछिल्ला वर्षहरूमा युरोलोजी सम्बन्धी रोगको उपचारमा उल्लेखनीय योगदान दिँदै आउनुभएको छ । बोलीचालीमा मृदुभाषी चिकित्सक डा. शाह अस्पताल व्यवस्थापन क्षेत्रसँगै मिर्गौलाबाट प्रभावित बिरामीको सेवामा आफूलाई सक्रिय बनाई राख्न निकै रुचि देखाउनु हुन्छ ।
डा. शाहले आफ्नो मेडिकल उच्चशिक्षा सकेपछि सुविधासम्पन्न शहरको आधुनिक आकर्षण, उपलब्ध पेशागत अवसरसँगै व्यक्तिगत उज्ज्वल सम्भावनालाई चटक्कै छोडी आफूले बाल्यकाल बिताएको जन्मथलो तराई क्षेत्रलाई कर्मथलो बनाउनु भएको छ । त्यसमा पनि सरकारी स्वास्थ्य संस्थाका सीमित स्रोतसाधनका बीच बिरामीलाई गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने उदाहरण बन्नु भएको छ, डा. चितरञ्जन शाह । उहाँको कार्यशैली र मिठो बोलीले यो कुरा प्रस्तुत गरेको देखिन्छ ।
जनघनत्व बढी भएको मधेस क्षेत्रका बिरामीहरूका लागि नारायणी अस्पताल एक प्रमुख उपचार केन्द्रका रुपमा रहेको छ, जहाँ डा. शाहको भूमिका विधागतरुपमा युरोलोजिष्ट र प्रशासनिकरुपमा अस्पताल प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) को रुपमा रहेको छ ।
युरोलोजी चिकित्साशास्त्रको संवेदनशील र प्राविधिकरुपमा जटिल शाखा हो । मिर्गौला, मूत्रथैली, प्रोस्टेट, मूत्रनली तथा पुरुष प्रजनन् प्रणालीसँग सम्बन्धित रोगहरूको समयमै पहिचान र उपचार नगरेमा बिरामीको जीवनमा गम्भीर असर पर्न सक्छ । धेरैजसो युरोलोजी समस्या लाज, डर वा जानकारीको अभावका कारण लुकाएर राख्ने प्रवृत्ति देखिन्छ, जसले रोगलाई जटिल बनाउने जोखिम बढाउँछ । अझ तराई क्षेत्रका समुदायमा यसखाले समस्या धेरै हुने डाक्टर शाहको भनाइ छ । यही यथार्थलाई आत्मसात गर्दै डा. शाहले नारायणी अस्पतालमा युरोलोजी सेवाको सुदृढीकरणमा निरन्तर योगदान दिँदै आउनुभएको छ ।
नारायणी अस्पतालमा दैनिकरुपमा मिर्गौला, पत्थरी, प्रोस्टेट, मूत्रनली सङ्क्रमण, पिसाब रोकिने समस्या, पिसाब चुहिने समस्या तथा यौन स्वास्थ्यसम्बन्धी समस्या लिएर आउने बिरामीहरूको उपचार उहाँले आफ्नो विभागीय मेडिकल टिमसँग सक्रिय हुनुहुन्छ । आकस्मिक अवस्थाका बिरामीदेखि दीर्घकालीन समस्याबाट पीडित बिरामीसम्मलाई समान संवेदनशीलताका साथ सेवा दिनु उहाँको विशेषता हो ।
डा. शाहको अर्को महत्वपूर्ण पक्ष भनेको बिरामीसँगको मिठो बोली र आत्मीय संवाद हो । बिरामी र उनीहरूका आफन्तजनको मनोभाव पहिल्यै बुझेर रोगको प्रकृति, उपचार प्रक्रिया, सम्भावित जोखिम, उपचारपछि अपनाउनुपर्ने सावधानी र जीवनशैली सुधारका विषयलाई सरल र सहज भाषामा बुझाउने उहाँको शैलीले बिरामी र परिवारजनको मानसिक तनाव कम गर्न उल्लेखनीय मद्दत पुगेको देखिन्छ । उपचार अगाडि असल चिकित्सकले यो कार्य गर्नु पेशागत कर्तव्य र जिम्मेवारी पनि हो । चिकित्सक र बिरामीको सम्बन्धमा विश्वास अत्यन्त आवश्यक छ ।
खासगरी युरोलोजी सेवामा जनचेतनाको अभावका कारण धेरै बिरामी ढिलो अस्पताल पुग्ने प्रवृत्ति अझै पनि विद्यमान छ । पिसाबमा समस्या, यौन कमजोरी, प्रोस्टेट वृद्धि जस्ता विषयलाई सामाजिकरुपमा खुलेर छलफल नगर्ने प्रवृत्तिले गर्दा समस्या जटिल अवस्थामा पुगेपछि मात्र बिरामी अस्पताल आउने गरेको देखिन्छ । यस सन्दर्भमा डा. शाहले नियमित परामर्श, स्वास्थ्य शिक्षा र समयमै जाँचको महत्वबारे बिरामीहरूलाई सचेत गराउँदै आउनुभएको छ । प्रारम्भिक चरणमै रोग पत्ता लागेमा उपचार सजिलो, कम खर्चिलो र प्रभावकारी हुने उहाँको स्पष्ट भनाइ छ ।
वीर अस्पतालसँगै तराई क्षेत्रको वीरगञ्जमा स्थापना भएको सबैभन्दा पुरानो हालको नारायणी अस्पताल जस्तो सरकारी संस्थामा बिरामीको चाप अत्यधिक हुनु स्वाभाविक देखिन्छ । तर उपकरण तथा पूर्वाधार सीमित हुनु र जनशक्तिको अभाव जस्ता चुनौतीहरू यथार्थ हुन् । यस्ता अवस्थाबीच पनि निरन्तर सेवामा खटिनु, जटिल केसहरूलाई धैर्यपूर्वक व्यवस्थापन गर्नु र बिरामीलाई आश्वस्त पार्दै उपचार प्रक्रिया अघि बढाउनु आफैंमा प्रशंसनीय पक्ष हो । डा. शाहले वीर अस्पतालबाट आफ्नो विशिष्टकृत शिक्षा (एमसिएच) सकेपछि काठमाडौंका चलेका स्थापित अस्पतालका धेरै पेशागत अवसरलाई त्यागी नारायणी अस्पतालको सेवा र गुणस्तर सुधारमा जुट्नु भएको छ ।
समग्रमा भन्नु पर्दा डा. चितरञ्जन शाहले नारायणी अस्पताल, वीरगञ्जमा युरोलोजी सेवाको माध्यमबाट बिरामीहरूको स्वास्थ्य सुधारमा योगदान पुर्याइरहनुभएको छ । उहाँले सरकारी स्वास्थ्य संस्थाप्रति जनविश्वास अभिवृद्धि गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । उहाँको पेशागत इमान्दारिता, बिरामीप्रतिको संवेदनशीलता र निरन्तर सेवाभावले युरोलोजी उपचार क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ । यस्ता समर्पित चिकित्सकहरूको प्रयासले नै सार्वजनिक स्वास्थ्य सेवा अझै सबल, प्रभावकारी र बिरामीमैत्री बन्दै जाने अपेक्षा गर्न सकिन्छ ।
युरोलोजी विधामा विशिष्टकृत शिक्षा (एमसिएच) गरी तराई क्षेत्रमा गएर बिरामीलाई सेवा दिने सम्भवतः मधेस प्रदेशकै पहिलो चिकित्सक हुनुहुन्छ, डाक्टर शाह । उहाँले अस्पतालको प्रशासनिक जिम्मेवारीबाट आफूलाई कम गर्न सक्नु भएमा युरोलोजी विधालाई मधेस प्रदेशको विधागत शिक्षा र स्वास्थ्य सेवा विस्तारमा विकास गर्न थप सहयोग पुग्ने थियो ।
