युरोलोजी क्यान्सर भनेको पिसाब प्रणाली तथा प्रजनन्सँग सम्बन्धित अङ्गहरूमा हुने क्यान्सर हो । यसअन्तर्गत मिर्गौला, पिसाबथैली, प्रोस्टेट, अण्डकोष र युरेथ्रामा देखिने क्यान्सर पर्दछन् । जीवनशैलीमा आएको परिवर्तन, बढ्दो उमेर, धूम्रपान र वंशानुगत कारणले पछिल्ला वर्षहरूमा युरोलोजी क्यान्सरका बिरामीको सङ्ख्या बढ्दो क्रममा छ । समयमै पहिचान र उचित उपचार गर्न सकेमा यस्ता क्यान्सरको सफल उपचार सम्भव हुन्छ ।
युरोलोजी क्यान्सरका प्रमुख प्रकार
युरोलोजी क्यान्सर विभिन्न प्रकारका हुन्छन् । जसमा मुख्यतया निम्न बमोजिम रहेका छन् :
प्रोस्टेट क्यान्सर : पुरुषमा धेरै देखिने क्यान्सरमध्ये यो एक हो । विशेषगरी यसको प्रभाव बुढेसालतिर हुने गर्छ । ५० वर्ष कटेपछि यसको जोखिम बढ्ने गरेको पाइन्छ ।
मिर्गौला क्यान्सर : यो मिर्गौलाको कोषिकामा अनियन्त्रित वृद्धि हुँदा हुने क्यान्सर हो ।
पिसाबथैली क्यान्सर : यस प्रकारको क्यान्सर रोगमा प्रायः गरी पिसाबमा रगत देखा पर्ने गर्दछ ।
अण्डकोष क्यान्सर : युवावस्थामा देखिने यसखाले क्यान्सर रोग समयमै उपचार गर्दा निको हुने सम्भावना उच्च रहन्छ ।
युरेथ्रा क्यान्सर : यो क्यान्सर रोग कम देखिने तर गम्भीर प्रकृतिको हुन्छ ।
रोगका लक्षण र सुरुवाती संकेत
युरोलोजी क्यान्सरका लक्षण क्यान्सरको प्रकारअनुसार फरक–फरक हुन सक्छन् । सामान्यतया देखिने लक्षणहरू यस प्रकारका रहेका छन् :
0 पिसाबमा रगत देखिनु
0 पिसाब गर्दा दुखाइ वा पोल्ने
0 बारम्बार पिसाब लाग्नु
0 कम्मर वा तल्लो पेट दुखाइ
0 अण्डकोषमा गाँठो देखिनु वा सुन्निनु
0 तौल अचानक घट्नु र थकान महसुस हुनु
यी लक्षण देखिएमा लापरवाही नगरी तुरुन्त युरोलोजी विशेषज्ञसँग परामर्श लिनु अत्यन्त आवश्यक हुन्छ ।
उपचार पद्धति
युरोलोजी क्यान्सरको उपचार क्यान्सरको अवस्था, फैलावट, बिरामीको उमेर र स्वास्थ्य अवस्थाअनुसार तय गर्ने गरिन्छ । यस सम्बन्धीका प्रमुख उपचार
पद्धतिहरू निम्न रहेका छन् :
शल्यक्रिया : क्यान्सर भएको अङ्ग वा भाग हटाउने प्रभावकारी उपाय भनेकै सर्जरी उपचार पद्धति हो ।
किमोथेरापी : औषधिको प्रयोगबाट क्यान्सर कोष नष्ट गर्ने उपचार पद्धतिलाई किमोथेरापी भनिन्छ ।
रेडियोथेरापी : विकिरणको प्रयोग गरी क्यान्सर कोष नष्ट गर्ने उपचार विधि हो ।
हर्मोनथेरापी : विशेषगरी प्रोस्टेट क्यान्सरमा यो उपचार पद्धति निकै नै प्रभावकारी हुने गर्दछ ।
इम्युनोथेरापी : टार्गेटेड थेरापी आधुनिक उपचार पद्धति हो जसले क्यान्सर कोषलाई लक्षित गर्छ ।
समयमै उपचार सुरु गरेमा बिरामीको जीवनस्तर सुधार हुनुका साथै दीर्घकालीन जीवनको सम्भावना बढ्नुका साथै आम नागरिक जस्तै जीवन विताउन सकिन्छ ।
सावधानी तथा रोकथामका उपाय
युरोलोजी क्यान्सरबाट बच्न वा जोखिम कम गर्न निम्न सावधानी अपनाउनु आवश्यक छ :
0 धूम्रपान र मदिरा सेवन त्याग्ने ।
0 प्रशस्त पानी पिउने ।
0 सन्तुलित र पौष्टिक आहार सेवन गर्ने ।
0 नियमित स्वास्थ्य जाँच गराउने ।
0 मोटोपना नियन्त्रणमा राख्ने ।
0 पारिवारिक इतिहास भएमा नियमित स्क्रिनिङ गर्ने ।
0 स्वस्थ जीवनशैली अपनाउनु नै क्यान्सर रोकथामको सबैभन्दा प्रभावकारी उपाय हो ।
सबैखाले क्यान्सरको जस्तै युरोलोजी क्यान्सरको अवस्था गम्भीर भए पनि समयमै पहिचान, आधुनिक उपचार पद्धति र उचित सावधानीबाट सफल उपचार सम्भव छ । जनचेतना अभिवृद्धि, नियमित स्वास्थ्य परीक्षण र विशेषज्ञ चिकित्सकको सल्लाहले यस्ता क्यान्सरबाट हुने जटिलता र मृत्यु दर घटाउन सकिन्छ । त्यसैले लक्षण देखिनासाथ ढिला नगरी उपचारतर्फ अग्रसर हुनु नै बुद्धिमानी कदम हो ।
