चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना परिणाम आउने क्रम जारी छ । १६५ निर्वाचन क्षेत्रमा भएको प्रत्यक्षतर्फको निर्वाचनमा केही चिकित्सकहरू पनि विजयी भएका छन् । त्यसमध्ये एक हुन् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. लेखजंग थापा ।
वरिष्ठ न्युरोलोजिष्ट डा. लेखजंग थापाले रुपन्देही क्षेत्र नम्बर–३ बाट भारी मतसहित विजय भएका छन् । उनले ५८ हजार ८१४ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४ सय ३५ मत ल्याए । तेस्रो स्थानमा रहेका नेकपा एमालेका बासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत ल्याए । ३३ जना प्रतिस्पर्धामा उत्रिएका रुपन्देही–३ मा ९४ हजार २३२ मत खसेको थियो ।
रूपन्देहीको अञ्चलपुरमा २०३४ सालमा जन्मिएका डा. लेखजंग थापाले एमडी (आन्तरिक चिकित्सा) र डीएम (न्युरोलोजी) अध्ययन पूरा गरेका छन् । राष्ट्रिय न्युरो केन्द्र काठमाडौंमा न्युरोलोजी विभागका निर्देशक तथा प्रमुखको रूपमा कार्यरत थापा मनमोहन मेमोरियल मेडिकल कलेजका वरिष्ठ न्युरोलोजिस्ट, नेपाल स्ट्रोक संघका संस्थापक तथा अध्यक्ष र विश्वस्तरीय न्युरोलोजी तथा स्ट्रोक नेटवर्कहरूसँग आबद्ध छन् ।
क्लिनिकल सेवासँगै अनुसन्धान, नेतृत्व र जनस्वास्थ्य उनको मुख्य चासोका क्षेत्र हुन् । उनले नेपालमा पहिलो पटक थ्रोम्बोलाइसिस थेरापी प्रयोग, दुर्लभ न्युरोलोजिकल रोगहरूको पहिचान र नेपाल स्ट्रोक परियोजना मार्फत अन्तर्राष्ट्रिय सहकार्यमा अनुसन्धानको नेतृत्व गरेका छन् ।
डा. थापा २०७९ को चुनावमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा जोडिएर रूपन्देही–३ बाट नै प्रदेश सभा सदस्यमा समानुपातिक उम्मेदवार बनेका थिए । तर सांसद भने बन्न सकेनन् ।
गत कात्तिकमा उपनिर्वाचन हुने भएपछि थापालाई भैरहवाका रास्वपा नेता कार्यकर्ताले पार्टीमा ल्याएका थिए । उनी प्रारम्भिक निर्वाचनमा ९ जनालाई पछि पार्दै उम्मेदवारका लागि छानिए । तर भदौमा जेनजी आन्दोलन भएपछि उपनिर्वाचन भएन । रास्वपाले २१ फागुनको चुनाव घोषणा लगत्तै उक्त क्षेत्रमा थापालाई नै उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।
