चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना परिणाम आउने क्रम जारी छ । १६५ निर्वाचन क्षेत्रमा भएको प्रत्यक्षतर्फको निर्वाचनमा केही चिकित्सकहरू पनि विजयी भएका छन् । त्यसमध्ये एक हुन् नेपाली कांग्रेसका डा. फिर्दोस आलम ।
रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार डा. फिर्दोस आलम निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिस्पर्धी किरणकुमार साहलाई ११ हजार ८६ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार डा. आलमले २९ हजार ५२८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका साहले १८ हजार ४४२ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. फिर्दोस आलम नेपाली कांग्रेसका प्रभावशाली नेता मोहम्मद अफताब आलमका जेठा छोरा हुन् । उनले बाबुको राजनीतिक विरासतलाई कायम राख्दै यसपटकको निर्वाचनमा सानदार जित दर्ता गरेका छन् ।
